राजनीति

वाइडबडी विमान भ्रष्टाचारमा जोसुकै भए पनि कारवाही हुनुपर्छः सभापति देउवा

उर्लाबारी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिएका छन्।

पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउदै उनले भने, “घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन”, सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाए ।

उनले सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसका विरुद्ध काङ्ग्रेसले अब देशभर आन्दोलन शुरु गर्ने बताए । सभापति सरकारले कर बढाएर उद्योगी व्यापारीलाई दुःख दिएको बताए ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य डा शेखर कोइराला डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा डिला सङ्ग्रौला र अमृत अर्यालले आगामी निर्वाचनमा काङ्ग्रेसलाई बहुमत जिताउन अहिलेदेखि नै सबै कार्यकर्ता एकजुट भए लागिपर्नुपर्नेमा जोड दिएका थिए।