राजनीति

संविधान संशोधन गर्ने सहमती कार्यान्वयन गर्न उपेन्द्र यादवले ओलीलाई दिए चेतावनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घीय समाजवादी फोरम नेपालले मुलुकलाई चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सरकारले चालेको कदमलाई प्रभावकारीरुपमा लैजान माग गर्दै आज लागि स्मरण पत्र बुझाएको छ । स्मरण पत्र भनेपनि फोमको पत्र प्रधानमन्त्री ओलीलाई दिएको फोरमको चेतावनी हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटी ११ बुँदे स्मरणपत्र बुझाएको फोरम नेपालका महासचिव रामसहायप्रसाद यादवले जानकारी दिए । स्मरणपत्र बुझाउँदा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता रहेका थिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्य गरी मुलुकबाट गरीबी, बेरोजगारी, आर्थिक फछ्र्यौटेपन, असमानता र विभेदलाई अन्त्य गर्दै सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, समावेशी प्रतिनिधित्वसहितको समावेशी लोकतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ तीव्रगतिमा अगाडि बढ्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई पूरा गर्नका लागि स्मरणपत्र बुझाएको बताए ।

स्मरणपत्रमा मुलुकको विद्यमान राष्ट्रिय समस्यालाई हल गर्न, नीति निर्माण र त्यसको कार्यान्वयनमा सहयोग पु¥याउन दुवै पार्टीको बीचमा संयुक्त कार्यदल बनाउनुपर्ने माग गरिएको छ ।
फोरम नेपालले सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता, राजनीतिक उपलब्धिलाई संस्थागत गर्न र राष्ट्रिय समस्यालाई हल गर्नका लागि संविधान संशोधन गर्न आवश्यक गृहकार्य गरी संसद्को यसै सत्रमा विधेयक पारित गराउनुपर्ने उल्लेख छ । यसैगरी ऐन/कानून निर्माण वा संशोधन गर्दा सङ्घीय गणतन्त्र मजबुत हुने गरी निर्माण गर्नुपर्ने, मुलुकमा बढ्दो अराजकता, ढिलासुस्ती, कमिशनतन्त्र, भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गरी जनतालाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउनुपर्नेलगायतका स्मरणपत्रमा रहेका छन् ।

यसैगरी प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सङ्घीय गणतन्त्रको भावना अनुकूल आवश्यक अधिकार, शक्ति, स्रोत र साधन उपलब्ध गराई सङ्घीय गणतन्त्रलाई संस्थागत गरी मजबुत बनाउनुपर्ने, विगतमा भएका मधेश÷थरुहट आन्दोलनका क्रममा राजनीतिक नेता तथा कार्यकर्तामाथि दमन गर्न लगाइएका मुद्दा फिर्ता गराउनुपर्ने उल्लेख छ । विभिन्न आयोगलाई पूर्णरुपले क्रियाशील बनाउन समावेशीतालाई ध्यानमा राखी आवश्यक आपसी परामर्श र समझदारीका आधारमा नियुक्ति गरी पूर्णता दिनुपर्ने, विकासका दृष्टिकोणले पछाडि पारिएका वा परेका कर्णाली प्रदेश र प्रदेश नं २ लाई विकास र निर्माणका लागि विकाससम्बन्धी विशेष योजनाको व्यवस्थागर्नुपर्ने लगायतका विषय स्मरणपत्रमा समावेश छन् ।

यस्तै फोरम नेपालको जिम्मेवारीमा परेका मन्त्रालयको कार्य प्रभावकारितालाई बढाउन आवश्यक वातावरण, सहयोग र समन्वय गर्नुपर्ने, कर्मचारीतन्त्रमाथिको राजनीतिक परनिर्भरतालाई कम गरी सरकारको नीति निर्माण, निर्णय र कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउनुपर्ने र राष्ट्रियहितको प्रतिकूल नहुने गरी द्विपक्षीय वा बहुपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय मामिलामा सन्तुलित सम्बन्ध र कूटनीतिक प्रयास गर्नुपर्ने स्मरणपत्रमा उल्लेख गरिएको छ ।