समाचार

ओली सरकारमाथी जनताको विश्वसनियता दिनप्रतिदिन घट्दैछः नेता सिंह

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीय घट्दै गएको बताएका छन् । त्रिचालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका– २६ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले दुई तिहाईको सरकारले संविधानको भावनाबमोजिम काम नगरेकाले जनताको विश्वसनीयता घटेको बताएका हुन् ।

बहुमतकोे बलमा सरकारले आदलतमा विचाराधिन मुद्दाका आरोपी रेशम चौधरीलाई शपथ खुवाएको र वाइडबडी जाहाज किनबेचमा भएको घोटलालाई पनि ओझेलमा पार्न खोजेको नेता सिंहले उल्लेख गरे ।

उनले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न बिपी कोइराला र गणेशमान सिंहले राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि बढेको बताए ।

प्रदेश सांसद जीवन डङ्गोलले बिपी कोइरालाले लिएको मेलमिलाप नीति आजको दिनमा पनि उत्तिकै सान्दर्भिक भएको बताए । “विभिन्न दलसँग मेलमिलाप गरेका कारण मुलुक आज यो अवस्थामा आएको हो,”उनले भने ।

काठमाडौँ क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, काङ्ग्रेस कामनपा–२६ का सचिव ख्याम तिवारीले सबै मिलेर काठमाडौँ काङ्ग्रेसको सङ्गठन निर्माणमा लाग्नुपर्ने बताए । आठवर्ष लामो निर्वासन पछि विसं २०३३ पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहलगायत नेताले भारतबाट मेलमिलापको नीति लिएर आएको स्मरणमा हरेक वर्ष काङ्ग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आइरहेको छ । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका ८० नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए ।