खेलकुद

खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक

धनगढी । नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ।

पुस २४ गते सुरु हुने खेलमा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लबसहित  मेची नेत्रालय काकँडभित्ता झापा, नेपाल एपिएफ, भ्याली च्यासल युवा क्लब, रुस्लान थ्री स्टार र दिल्ली एफसी रहेका छन्। यो समूहबाट नेपाल एपीएफ र रुस्लान थ्रीस्टार पहिलो चरणमा वाई पाएर सिधै क्वाटरफाईनलका खेल खेल्नेछन्।

उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम– ११ स्पोर्टस क्लब र मेची नेत्रालय काकँडभित्ता झापा बीच उद्घाटन खेल हुने छ। यो खेलको विजेताले क्वार्टरफाइनलमा नेपाल एपिएफएसँग प्रतिस्पर्धा गर्नेछ। भ्याली च्यासल युवा क्लब र दिल्ली एफसीबीच हुने खेलको विजेता टोलीले क्वाटरफाईनलमा रुस्लान थ्रीस्टारसँग खेल्नेछ।  अर्को समूहमा सिग्नेचर मनाङ मर्स्याङ्दी, सीएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाईज स्पोर्टस् रूपन्देही, मोरङ ११ स्पोर्टस क्लब र क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लब छन्।

यो समूहबाट पनि सिग्नेचर मनाङ मर्स्याङ्दी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब पनि पहिलो चरणमा वाई पाएर सिधै क्वाटरफाइनलमा पुगेका छन्।  मनाङले नेपाल पुलिस र मोरङ ११ स्पोर्टस क्लबको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्ने छ। क्यामरुनको धाउफिन्स टिम फ्यामिली क्लबले सेमिफाइनल जानका लागि सिएमजी संकटा र गोर्खा ब्वाइज स्पोर्टस् रूपन्देहीबीचको विजेतासँग खेल्नेछ।

तेस्रो संस्करणको नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछन्। उत्कृष्ट खेलाडीले मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५\१५ हजार पाउने आयोजकले जनाएको छ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई नगद १० हजार प्रदान गरिने छ। प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ।