खेलकुद

रोभर्सको पोष्टमा टोटेनह्यामको गोल वर्षा, लोरेन्टको ह्याट्रिक

काठमाण्डौ । एफए कप फुटबल प्रतिसपर्धामा टोटेनह्याम हटस्परले शानदार जित निकाल्दै चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ट्रानमेरा रोभर्सलाई ७ – ० गोल अन्तरले हराउँदै जित निकालेको हो ।

रोभर्सको घरेलु मैदानमा भएको खेलमा  टोटेनह्यामका फर्नान्डो लोरेन्टले ह्याट्रिक पुरा गर्दा सेर्गी अरियरले दुई तथा ह्युङ् मिन सन र ह्यारी केनले १–१ गोल गरेका थिए । खेलको पहिलो हाफमा १ – ० ले अघि रहेको टोटेनह्यामले रोभर्सविरुद्ध दोस्रो हाफमा गोलको वर्ष नै गरेको थियो । सेर्गीले खेलको ४० औं मिनेटमा गोल गर्दै टोटेनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा लोरेन्टले गोल गर्दै टोटेनह्यामको अग्रतालाई २ – ० को स्थितिमा पुर्याए । ५५ औं मिनेटमा सेर्गीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३ – ० को बनाएका थिए ।
त्यसैगरि ५७ औं मिनेटमा सनले गोल गर्दा टोटेनह्याम ४ – ० ले अघि रह्यो । ७१ औं मिनेटमा लोरेन्टले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनह्यामको अग्रता ५ – ० को स्थितिमा पुग्यो । खेलको ७२ औं मिनेटमा लोरेन्टले ह्याट्रिक पुरा गर्दा टोटेनहमले ६ – ० को अग्रता बनाएको थियो । त्यसपछि खेलको ८२ औं मिनेटमा लोरेन्टको स्थानमा मैदान छिरेका केनले गोल गरेपछि टोटेनहमले ७ – ० को फराकिलो जित हात पार्न सफल भयो ।