पत्रपत्रिका

नेकपाको एकीकरण कार्यदल गोप्य खाका बनाउँदै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण कार्यदलले बाँकी कामको गृहकार्य गोप्य रूपमा अघि बढाएको छ।

संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गठित नौ सदस्यीय कार्यदलले गृहकार्य सुरु गरेको हो। ललितपुरको एक होटेलमा शुक्रबार बिहानदेखि साँझसम्म लगातार सदस्यहरू छलफलमा जुटे। केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला नेतृत्व बाँडफाँड, जनसंगठनहरूको एकीकरणदेखि पोलिटब्युरो गठनसम्मको प्रस्ट खाका तयार पार्ने ‘म्यान्डेट’ कार्यदललाई छ।

प्रारम्भिक चरणमा एकीकरणको मापदण्डमा केन्द्रित रहेर छलफल भइरहेको कार्यदलका एक सदस्यले बताए। १६ पुसमा कार्यदल सदस्यहरूलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले १० दिनभित्र प्रस्ट खाका तयार पारिसक्न निर्देशन दिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

अध्यक्ष ओली र प्रचण्डले पार्टी स्थायी समितिले एकीकरण र कार्यविभाजनको खाका पारित नगरेसम्म गृहकार्य सार्वजनिक नगर्न निर्देशन दिएकाले कार्यदल सदस्यहरू खुल्न चाहेका छैनन्। ‘कार्यदलले बनाएको मापदण्ड, छलफल र व्यक्तिका नाम बाहिर जाँदा काम सम्पन्न नहुँदै धेरै प्रेसर खेप्नुपर्ने हुन्छ।

त्यसैले नेतृत्वको निर्देशनअनुसार प्रतिवेदन तयार नहुँदासम्म मिडियासँग बोल्दै नबोल्ने सहमति छ,’ कार्यदलका एक सदस्यले भने, ‘अहिले सूचना लिक हुँदा सहमति भइसकेका विषय पनि बिग्रिने भएकाले छलफललाई गोप्य राखिएको हो।’

कार्यदलमा रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन्।