आर्थिक

बैंकको व्याजदर घटाउन निर्यातकर्ताको माग

काठमाडौँ । नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन् ।

यही पुस २२ गते राजधानीमा आयोजना हुने निकासी दिवसका सन्दर्भमा परिषद्ले आज पत्रकार सम्मेलन गरी सात प्रतिशत व्याज तिर्नेगरी लिइएको व्याज १५ प्रतिशत पुगेकाले बैंकको व्याज घटाउन सरकारबाटै प्रयास हुनुपर्नेमा जोड दिएको छ । परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यातकर्ताले धेरै समस्या झेल्नुपरेको दुखेसो गर्दै चर्को व्याजदरले निकासीजन्य उद्योग थला परेका बताए ।

उनले औद्योगिक व्यवसाय ऐन, बोनस ऐन, मदिरा ऐन र उपभोक्ता ऐन निजी क्षेत्रमैत्री नभएको मर्का सुनाउँदै तिनको संशोधन अपरिहार्य भएको बताए । परिषद्ले व्यापार तथा निकासी प्रवर्धन केन्द्र र नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा आगामी आइतबार राजधानीमा हुने विशेष छलफलमा निकासी प्रवद्र्धनका निम्ति सरकारले उपलब्ध गराएका सहुलियत, करका प्रावधान, सामाजिक सुरक्षा कोष, भन्सारका जटिलता र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने प्रवद्र्धनात्मक मेलाबारे विचारविमर्श हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।