समाचार

प्रतिवेदनलाई ठोस, स्पष्टता र परिस्कृत बनाउने समितिको निर्णय

काठमाडौँ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी खरीद प्रकरणमा भएको अनियमितताको सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनपछि मात्र अघि बढाउने निर्णय गरेको छ ।

समितिको आजको बैठकमा सदस्यले उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा प्रतिवेदनको केही व्यहोरा र भाषिक सुधारको आवश्यकता औँल्याउनुभयो । आगामी सोमबार बस्ने बैठकबाट निर्णय हुने गरी समितिले उक्त कार्यका लागि सभापति भरतकुमार शाह र सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसअघि बैठकमा उपसमितिका सदस्यले कुनै व्यक्ति विशेषप्रति पूर्वाग्रह र रिसिबी साँध्ने ढङ्गबाट नभई स्वतन्त्र हिसाबले छानबिन गरी एकमतका साथ प्रतिवेदन तयार गरेको जानकारी दिएका थिए ।

मुलुकमा व्याप्त भ्रष्टाचारलाई न्यूनीकरण गर्न तथा ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई मूर्तरुप प्रदान गर्ने काममा कसैले पनि अन्यथा रुपले हेर्न र प्रश्न उठाउनु उपयुक्त नहुने उनीहरुले धारणा राखे ।

विमान खरीदमा अनियमितता गर्ने दोषीलाई उम्कन नदिन तथा निर्दोषलाई दण्डित गर्न हुन्न भन्ने पक्षमा उपसमितिले सजग र चनाखो ढङ्गले अध्ययन गरेको पनि सो अवसरमा जानकारी गराइयो ।

समितिका सदस्यले प्रतिवेदनको मूलभावलाई खदिलो बनाएर अघि बढ्नुपर्ने भएको हुँदा प्रतिवेदनमा उल्लेख भएका कतिपय विषय वस्तु परिमार्जन र सुधार गरेर अघि बढ्दा उपयुक्त हुने सुझाव प्रस्तुत गरेका थिए । उनीहरुले भने– प्रतिवेदनलाई ठोस, स्पष्टता र परिस्कृत तुल्याउन आवश्यक छ ।