बाग्मती

छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव फेला

भरतपुर । चितवनका छुट्टाछुट्टै ठाउँमा आज दुई जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–३ बेलचोकमा ४० वर्षीय राज गुरुङ मृत अवस्थामा फेला परेको हो ।

प्लाष्टिकको छाप्रोमा बस्दै आएका गुरुङ मागेर खाँदै हिँड्ने गरेको स्थानीयवासीले बताएका छन् । जाडोले कठ्याङ्ग्रियर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा इनारभित्र अर्का एक जनाको शव भेटिएको छ । स्थानीयवासी बुद्धिराम चौधरीको इनारमा सोही भलाई महतोको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विगत १० दिनदेखि हराइरहेका उनको शव सडेको अवस्थामा फेला परेको हो । दुवै शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।