आर्थिक

माछापुच्छ्रे बैंकको साधारण सभा, डा. महतो अध्यक्ष निर्बाचित

काठमाण्डौ । माछापुच्छ्रे बैंकको बीसौं वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सी.को सभापतित्वमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांशप्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

उक्त साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. बिरेन्द्र प्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । साथै, उक्त साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले डा. बिरेन्द्र प्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ ।

बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमाससम्ममा रु.३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५असोज मसान्त सम्ममा रु. ७७अर्व ९८ करोड निक्षेप परिचालन गरी रु. ७१अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।