सुदूरपश्चिम

कृषकको आकर्षण जर्सी गाईपालन

अमरगढी । स्थानीय बजारमा दूधको माग बढेपछि परम्परागत साना जातका गाईपालनलाई छाडेर डडेल्धुरा जिल्लाका भित्री मधेशका किसान यतिखेर उन्नतजातका जर्सी गाईपालनप्रति आकर्षित भएका छन् । दिनप्रतिदिन जिल्लाका स्थानीय बजार र सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा दूधको माग बढ्न थालेपछि किसान उन्नत जातका गाईपालन गर्न थालेका हुन् ।

स्थानीय जातका साना गाईबाट जति राम्रो पालन पोषण भए पनि दूध कम आउने भएपछि जिल्लाका ग्रामीण भेगका किसान दूध बढी आउने जर्सी गाईपालनको व्यवसायतिर आकर्षत भएका हुन् । जिल्लाका केही गैरसरकारी संस्था र जिल्ला साविकको पशुसेवा कार्यालयबाट अनुदान पाएपछि स्थानीय जर्सी गाई कृषकको आकर्षणको केन्द्रविन्दु बनेको छ ।

दुई वर्ष पहिले पशुसेवा कार्यालयले व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गर्ने किसानलाई ढुवानी अनुदान दिएपछि जिल्लामा अहिले २२ किसानले जर्सीगाई पालनको शुरुआत गरेको कार्यालयका प्रमुख पशुपति नाथले जानकारी दिए । उनले पछिल्लो समयमा भैँसीलाई मासुको रूपमा बाहिर जिल्ला लैजाने गरेपछि भैँसीपालनको विकल्पमा जर्सी गाईपालनतिर कृषक आकर्षित भएको बताए ।

जिल्लाको भित्री मधेश क्षेत्रको आलिताल गाउँपालिकाको सेरी तथा परशुराम नगरपलिकाको जोगबुढाका र तुलाभाडीका किसानले हाल जर्सीगाई पालन व्यवसाय शुरु गरेपछि स्थानीय बजारमा दिन प्रतिदिन बढ्दै गएको दूधको माग पर्याप्त हुन थालेको छ । हाल डडेल्धुरामा साढे आठ हजार लिटर दूध दैनिक उत्पादन हुने गरेको पशुसेवा कार्यालयको तथ्याङ्क छ । हाल डडेल्धुरा जिल्लामा मात्र करीब पाँच सय जर्सी गाई भित्रिएको बताइएको छ ।