प्रदेश 1

पत्रकार र कर्मचारी पुरस्कृत

विराटनगर । नेपाल पत्रकार महासङ्घ, मोरङ शाखाको १३औँ साधारणसभामा दुई सञ्चारकर्मी पुरस्कृत भएका छन्
। नगर विकास प्रतिभा पत्रकारिता पुरस्कार रु ११ हजार राशिका धु्रव भट्टराई र महासङ्घद्वारा स्थापित रु १५ हजार राशिको पत्रकारिता प्रतिभा पुरस्कार तारा आचार्यले प्राप्त गरेका छन्।

यस्तै, महासङ्घमा लामो समयदेखि कार्यालय सचिवमा कार्यरत कर्मचारी दीपक फुँयाललाई रु ५१ हजार राशिको पुरस्कार प्रदान गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्र र समाजलाई सजग गराउने सञ्चार क्षेत्र जहिले पनि सचेत एवं गम्भीर हुनुपर्ने बताउँदै सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीलाई राजनीतिक पार्टीको प्रतिनिधि भएर काम नगर्न सुझाव दिए ।

प्रदेशसभा सदस्य केदार कार्की, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले जनतालाई सुसूचित गर्ने सञ्चार माध्यमले निष्पक्ष भएर काम गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेल, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ का अध्यक्ष राजेन्द्र राउत, मोरङ व्यापार सङ्घका उपाध्यक्ष प्रकाश मुन्दरा, नेपाली काङ्ग्रेस मोरङका सचिव नागेश कोइराला, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, जिल्ला शाखाका उपाध्यक्ष कुमोद अधिकारी र महासचिव विवेक गौतमले सञ्चारकर्मीले देश र जनताकै हितमा अझ सशक्तरूपमा अघि बढ्नुपर्ने बताएका छन् ।

कार्यक्रममा महासङ्घका पूर्व सभापति सुवास ढकाल, मोहन भण्डारी, यज्ञ शर्मा, दीपक दाहाल, शिवबहादुर कार्की, विक्रम निरौला र महेन्द्र बिष्टलाई सम्मान गरिएको थियो ।