स्वास्थ्य

दीर्घ रोगीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रमा नमूना कामको थालनी

सङ्खुवासभा । धर्मदेवी नगरपालिकाको तेस्रो नगरसभाले दीर्घ प्रकृतिका रोगीलाई लक्षित गरी देशमै नमूनाको रूपमा स्वास्थ्य क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ ।

नगरक्षेत्रका मिर्गौला, क्यान्सरपीडित, दम, मुटुका रोगीलगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका नगरभित्रका विपन्न, गरीब, असहाय, अशक्त रोगीको लागि प्राथमिक उपचारसँगसँगै सुविधा सम्पन्न अस्पतालमा लैजान प्रेरित गरिनेछ । साथै त्यस्ता प्रत्येक रोगीलाई नगरको बजेटबाट रु १५ हजारका दरले औषधि उपचार खर्च उपलब्ध गराउने निर्णय गरिएसँगै १० जना रोगीले यस किसिमको सुविधा लिइसकेको जानकारी नगर प्रमुख रमेश जिमीले दिए ।

जिमीका अनुसार २२ जना बढी दीर्घ रोगीले यस किसिमको सुविधाका लागि निवेदेन दिइसकेका छन् । रोगीको पहिचान गर्दा सम्बन्धित वडा कार्यालयले सिफारिस गरेको आधारमा यस किसिमको सुविधा उपलब्ध गराउँदै आएको समेत उनले बताए ।