गण्डकी प्रदेश

बाङ्गेचौरमा प्यारापिट

बागलुङ । बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानमा प्यारापिट निर्माण शुरु भएको छ । फलामबाट बन्ने प्यारापिट ५४० दर्शक क्षमताको हुनेछ । रु १६ लाख खर्चेर जिल्ला फुटबल सङ्घ बागलुङले प्यारापिट बनाउन लागेको हो ।

प्यारापिटसँगै ३० जना बस्न मिल्ने मञ्च पनि बनाइने सङ्घले जनाएको छ । ३० मिटर लम्बाइ, ६ मिटर चौडाइ र ६ फिट उचाइको प्यारापिट ३ तहको हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले रु १० लाख उपलब्ध गराएको छ । रु छ लाख अन्यत्रबाट सहयोग जुटाउने जिल्ला सङ्घले जनाएको छ । ‘‘एक महीनाभित्रै काम सक्ने लक्ष्य छ । हामी आफैँ पनि खटिएका छौँ ’’ सङ्घका अध्यक्ष रामराज गुरुङले भने।

प्यारापिट नहुँदा फुटबललगायतका प्रतियोगिता कि भूइँमा बसेर कि उभिएर हेर्न दर्शक बाध्य थिए । एन्फाले पूर्वाधार निर्माणमा छुट्टाएको बजेट प्यारापिटमा खर्च गरिएको सङ्घका अध्यक्ष गुरुङको भनाइ छ । प्यारापिट बनेपछि प्रतियोगिता व्यावसायिक हुने अपेक्षा गरिएको सङ्घका कोषाध्यक्ष सूर्य लामिछानेले बताए ।

ठूला प्रतियोगिता हुँदा टिकटमा दर्शक राख्न सकिने सङ्घले जनाएको छ । प्यारापिट बनेपछि दर्शकले सहज रुपमा फुटबलको मज्जा लिन पाउनेछन् । दर्शकको सुविधालाई ध्यानमा राखेर प्यारापिट बन्न लागेपछि खेलप्रेमी खुशी छन् । बाङ्गेचौर सदरमुकाममा रहेको एकमात्र खेल मैदान हो । फुटबल खेलको लागि मापदण्डयुक्त जिल्लाकै एकमात्र खेल मैदान भएका कारण बाङ्गेचौरको विकासमा सबैको चासो छ ।

गण्डकी प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिता गत माघमा बाङ्गेचौरमै भएको थियो । यो वर्ष पनि प्रतियोगिता सञ्चालनको तयारी छ । जिल्ला खेलकूद विकास समितिले दुई वर्षअघि मैदान सम्याउने र तारबारको काम गरेको थियो । राष्ट्रियस्तरको रङ्गशालाको रुपमा विकास गर्न समिति र बागलुङ नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को तयारी अघि बढाएका छन् ।