समाचार

न्यायाधीश दिपकराज जोशीलाई अर्को धक्का, सबै जिम्मेवारी खोसियो

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दिपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पद सम्हाले लगतै जोशीलाई राजीनामा दिएर अदालतलाई निकास दिन सुझाएका थिए । त्यसको भोलिपल्टै जोशीको बरिष्ठतम न्यायाधीशको हैसियत समेत खोेसिएको छ ।

परिषद् बैठकले मेलमिलाप परिषद्को अध्यक्षबाट जोशीलाई हटाएर न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी दिएको छ। बैठकले संवैधानिक इजालस पुर्नगठन पनि गरेको छ। संवैधानिक इजलासमा अब प्रधानन्याधीशसहित न्यायाधीशहरू दीपकुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की रहने छन्।

दोस्रो वरियतामा रहने न्यायाधीशलाई दिने गरिएको एक नम्बर इजलास दीपककुमार कार्कीलाई दिएका छन् । सर्वोच्चको न्यायाधीशहरुको वरियतामा जोशीपछि कार्की आउँछन् । बिहीबारबाटै जोशीको कार्यकक्षमा दीपक कार्कीलाई सारिएको छ ।

सर्वोच्च प्रशासनले जोशीको चेम्बर सर्वोच्च अदालतको एनेक्स भवनमा स्थानान्तरण गरेको बताएको छ । जोशीलाई भने बिहीबारदेखि नै इजलास तोकिएको छैन ।

यस्तै बैठकले उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा सुर्खेतबाट हरिकुमार पोखरेललाई सरुवा गरेको छ । रिक्त रहेको मुख्य न्यायाधीश पदमा उच्च अदालत पाटनको हेटौंडा इजलासकी न्यायधीश सुष्मालता माथेमालाई पदस्थापन गर्न सिफारिस गरिएको छ ।