कृषि

डेरी अनुगमन, दूध, दही, पनिर र नौनी ढुसी आएको अत्यन्तै फोहोर भेटियो

भक्तपुर । सूर्यविनायक नगरपालिकाले सूर्यविनायक र जगाते क्षेत्रमा सञ्चालित दूध तथा दुग्धजन्य पदार्थ उत्पादन एवं बिक्री वितरण गर्ने डेरीको आज अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायकमा मनोज श्रेष्ठले सञ्चालन गरेको रानीकोट दूध डेरी अत्यन्तै फोहर र दर्ताबिना सञ्चालन गरिएको पाइएको छ । डेरी नगरपालिकामा दर्ता नै नगरी सञ्चालन गरिएको, दूधमा फोहर भेटिएको, ढुसी आएको पनिर र नौनी बिक्री गरिरहेको, दूध तताउने एवं दही बनाउने ठाउँसमेत अत्यन्तै फोहर रहेको भेटिएको छ ।

बोर्ड र मूल्य सूचीसमेत नराखी दुर्गन्धित रुपमा सञ्चालित उक्त डेरीको ढुसी आएको सामग्री नष्ट गर्दै एक साताभित्र दर्ता गरी सुधार गर्न निर्देशन दिएको छ । नगरपालिकाका अधिकृत अनिरुद्र नेपालको नेतृत्वमा नगरपालिकाका पूर्णचन्द्र शर्मा, विश्वराम नगरकोटी, वसन्त चापागाईँ, शोभा घिमिरे, सुमित्रा थापा, कर्णाश्वर आचार्य, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, रामचन्द्र सापकोटालगायतको टोलीले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सूर्यविनायक नगरपालिका–८ जगातीमा सञ्चालित पुरानो भक्तपुर जुजु धौ सेन्टरमा ढुसी आएको १४ लिटर दही नष्ट गरेको छ । अनुगमन टोलीले दूध तताउने ठाउँमा फोहर तथा कुखुरापालन गरेको, ढुसी आएको दही तथा पनिर बिक्रीमा राखेको, फोहर ठाउँमा दही जमाएको, दर्ता एवं नवीकरण नगरेको पाइएपछि दही नष्ट गर्नुका साथै एक साताभित्र सबै सुधार गर्न निर्देशन दिएको छ ।

त्यस्तै भक्तपुर जुजु धौ सेन्टर दर्ता एवं नवीकरण नभएको र घ्यूमा लेवलसमेत नभएको तथा सूर्यविनायक नगरपालिका–६ मा सञ्चालित जय श्रीकृष्ण डेरीले दर्ता नवीकरण नगरेको पाइएको छ । नगरपालिकाले अखाद्य वस्तु मिसावट गरिएको पाइएको डेरीलाई कारवाही गर्ने गरी नीति लिएको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए । अनुगमनलाई निरन्तरता दिइने उनको भनाइ छ ।