पु.समाचार

प्रधानमन्त्रीबाट फोहर पानी प्रशोधन केन्द्रको शिलान्यास

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्रको शिलान्यास गरेका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी(कोड्कु) र सुन्दरीघाटमा प्रशोधन केन्द्र छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले साता दुई साता लम्बिए पनि मेलम्चीको पानी सक्दो चाँडो काठमाडौँ ल्याउन सरकार लागिपरेको जानकारी दिए । उनले भने, “२७ वर्षसम्म चिप्लेकीराको गतिमा काम भए पनि अहिले गति लिएको छ ।” एक प्रसङ्गमा उनले भारतमा बग्ने गङ्गा नदीमा हिउँदमा ७२ प्रतिशत नेपालबाट बगेका पानी भएको र त्यसले विहार र उत्तर प्रदेशलाई समेत मरुभूमि हुनबाट बचाएको बताए ।

सो अवसरमा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले केन्द्रमा पानीलाई प्रशोधन गरेर विभिन्न कामका लागि प्रयोग गर्न सकिन्छ भने फोहर पानीको अरु सम्भावना पनि उत्तिकै रहेको बताइन् । उनले भनीन्, “ यसबाट विद्युत् उत्पादन र मलको पनि उत्पादन हुन सक्छ ।”

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मृतावस्थामा रहेका नदीलाई ब्यूँताउन मन्त्रालयले काम शुरु गरेको बताउँदै देशभरका शहरी क्षेत्रमा खानेपानी वितरणसँगै ढल व्यवस्थापन भइरहेको जानकारी दिए।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले केन्द्रबाट दुर्गन्ध फैलिँदैन भनेर स्थानीयवासीलाई विश्वास दिलाइएको र सुन्दरीघाटमा पनि केन्द्र निर्माणका लागि स्थानीयवासीसँग छलफल भइरहेको जनाए । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी उपत्यका भित्रिएपछि खानेपानीको समस्या हल भए पनि फोहरपानीको मात्रा बढ्ने औँल्याए।