अन्तर्राष्ट्रिय

सिरियाली विद्रोहीबीचको झडपमा मृत्यु हुनेको संख्या ५० जना पुग्यो

बेरुत । सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम ९एचटीएस० र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ ।

बुधबार नै झिमेकी प्रान्त इडलिबमा पनि यिनै दुई समूहबीच हिंसा भडकिएको थियो । सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार इडलिब विद्रोहीहरुको अन्तिम अखडा पनि हो । अब्जरभेटरीका प्रमुख अब्देल रहमानले इडलिब प्रान्तको उत्तर र दक्षिणपूर्वी भेगमा लडाइँ अझ तिब्र भएको बताउनुभयो । उहाँले झडपमा ४८ जनाको मृत्यु भएको पुष्टी भइसकेको बताए । मङ्गलबार यो संख्या १९ थियो ।

एचटीएसले विद्रोही समूह नुरेद्दीन अल–जिन्कीले आफ्ना पाँच जना लडाकूको हत्या गरेको आरोप लगाएको छ । एचटीएसले जिन्की समूहका दर्जनौं लडाकूलाई गिरफ्तार गरेको जनाएको छ ।

सिरियामा सरकार विरोधी प्रदर्शन सन् २०११ मा भडकिएको थियो । उक्त प्रदर्शनलाई सरकारले निर्ममतापूर्वक दमन गरेको थियो, जसका कारण सिरियामा गृहयुद्ध प्रारम्भ भएको थियो । सिरियामा हाल अनगिन्ती लडाकू समूह सक्रिय छन्, र तिनीहरुलाई विदेशीहरुको पनि साथ सहयोग प्राप्त छ । सिरियामा जारी गृहयुद्धमा हालसम्म तीन लाख ६० हजारको मृत्यु भइसकेको छ भने लाखौं सिरियाली विस्थापित भएका छन् ।