राजनीति

सडक निर्माणबारेमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा तराईमा चिसोका कारण जनजीवन प्रभावितदेखि सडक निर्माण, निर्मला पन्तको हत्यालगायतका विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा शून्य समयमा बोल्ने सांसद रानी मण्डलले चिसोको कारण मधेशका नागरिकको जनजीवन प्रभावित भएको हुँदा सरकारले न्यानो कपडा र दाउराको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । सांसद यज्ञराज सुनुवारले प्रदेश नम्बर १ राजधानीसम्म पुग्नका लागि ओखलढुङ्गा र खोटाङका नागरिकलाई असहज भएको हुँदा घुर्मी चतरा सडक छिटो निर्माण गर्न सरकारसँग माग गरे।

सांसद राजेन्द्रकुमार केसी, भवानी खापुङ, यज्ञबहादुर बोगटीले सडक निर्माणमा आएको बजेटबाट आर्थिक वर्षको आधाभन्दा बढी समय सकिन लाग्दासम्म सडक निर्माणको काम शुरु नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । सांसद विमला विकले समानुपातिक सांसदलाई बजेट विनियोजन गर्दा विभेद गरेकोप्रति आपत्ति प्रकट गरे । सांसद भरतकुमार शाहले भैँसेपाटीमा मन्त्रीलाई आवासीय भवन बनाउने निर्णय सञ्चाइ सांसद आवास गृह बनाउन माग गरे ।

सांसद डा मीनेन्द्रप्रसाद रिजालले भूकम्पको पुनःनिर्माणको रु दुई अर्ब ५० करोड कहाँ गयो भन्दै धरहरा पुनःनिर्माणलगायतका लागि सङ्कलन गरिएको पैसाको बारेमा सरकारसँग जानकारी माग गरे । सांसद यशोदा गुरुङ सुवेदीले नेपालका नम्बर प्लेटको गाडी भारत लान नपाउने तर भारतको नम्बर प्लेटका गाडीचाँहि नेपाल गुड्ने व्यवस्थाका बारेमा सरकारको स्पष्ट धारणा माग गरे ।

सांसद रंगमती शाहीले निर्मला हप्याकाण्डका विषयमा अध्ययन गर्न सरकार सफल नभएको हुँदा महिला सांसदलाई सो विषयमा अध्ययन गर्ने जिम्मा दिएमा दोषी पत्ता लगाउने बताए । सांसद राजेन्द्रप्रसाद गौतमले सरकारले सङ्घीय तथा स्थानीय विकास मन्त्रालयको डोलीडार आयोजना एकातिर बजेट अर्कोतिर भएकाले बजेटको यकिन गर्न माग गरे ।