बाग्मती

‘क्षितिज सिकाइ मेला’ हुँदै

काठमाडौँ । सिन्धुपाल्चोकका उत्तरी दुर्गम भेगको पाँच माध्यमिक विद्यालयका सहकार्यमा भोताङदेवी माध्यमिक विद्यालय भोताङमा ‘क्षितिज सिकाइ मेला’ हुने भएको छ ।

टिच फर नेपालका प्रज्ञार्थीको अग्रसरतामा ‘विज्ञान, प्रविधि र कलाको प्रवद्र्घन, हामी सबैको सम्बोधन’ नारासाथ हुने मेलाको मूल उद्देश्य विद्यार्थी, शिक्षक र शैक्षिक अभियन्ताको सिकाइ साथै शैक्षिक स्थितिको सुधार गर्नु रहेको छ । मेलामा पाँचपोखरी गाउँपालिकाका १० माध्यमिक विद्यालयले भाग लिने टिच फर नेपालका अभियानकर्मी मिङ्मा तेन्जिङ केसीले जानकारी दिए । “क्षितिज सिकाइ मेलामा विद्यार्थीको सिकाइको क्षितिज उजागर हुन्छ र शिक्षालाई जीवनोपयोगी बनाउने प्रयत्न गर्नेछन् ”, उनले भने । मेलामार्फत विद्यालय र स्थानीय सरकारबीचको सहकार्यले शैक्षिक क्षेत्रमा सुधार हुने आयोजकको विश्वास छ ।

यही पुस २७ गते हुने मेलामा एसइई दिने विद्यार्थीका लागि उच्च शिक्षाका निमित्त परामर्श सेवा, कार्यरत शिक्षकको सशक्तीकरण र विद्यार्थीको सिकाइ प्रक्रियाको विकास र जिल्ला शिक्षा कार्यालय, गाउँपालिका, समुदाय र विद्यालय एकै ठाउँमा भेला हुनेछन् । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, दाङ, सिरहा लगायतका जिल्लामा गणित र अङ्ग्रेजी विषयका स्वयंसेवी शिक्षक खटाउँदै आएको छ ।