अन्तर्राष्ट्रिय

मध्य मालीमा ३७ जनाको हत्या भएपछि सातजना पक्राउ

बामाको । मालीको दुर्गम काउलोगोन गाउँमा नयाँ वर्षको अवसरमा शस्त्रधारी स्थानीयबासीबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ । माली सरकारका अनुसार उक्त हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

मालीको गृह मन्त्रालयले मालीको सैन्यबललाई तत्कालै घटनास्थलमा पठाएको जनाएको छ । घटनास्थलमा पुगेको फौजले शंकास्पद सात जनालाई पक्राउ गरेको छ, तर उनीहरुका बारेमा विस्तृत विवरण दिएको छैन । मङ्गलबार भएको उक्त घटनामा डोगोन समुदायका मानिसले फुलानी गाउँका मानिसमाथि आक्रमण गरेको विश्वास गरिएको छ ।

मालीको सोही फौजले बुर्किनाफासोसँगको सीमा क्षेत्रमा समेत पुगी आगजनीको घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनामा सैनिक कारबाहीमा एक जनाको मृत्यु हुनुका साथै अरु २४ जनालाई पक्राउ गरिएको छ ।

मालीमा सक्रिय सशस्त्र विद्रोही समूहका कारण फ्रान्सेली सैनिकले मालीको सरकारी फौजलाई सन् २०१२ देखि मद्दत गरिरहेको छ । गत नोभेम्बरमा फुलानी लडाकू नेता अमाडोउ कोउफाको मृत्युपश्चात मालीका सशस्त्र समूहहरुबीच आपसी कलह बढेको छ ।

फुलानी र डोगोन समुदायबीच जमिन र पानीको विषयमा विवाद छ । उक्त क्षेत्रमा सन् २०१८ मा मात्र पाँचसय भन्दा बढी नागरिकको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । अन्तर–समुदाय हिंसालाई न्यूनीकरण गर्न ठूलो सैन्य अभियान सञ्चालन गर्न लागेको मालीको गृह मन्त्रालयले जनाएको छ ।