स्वास्थ्य

स्वास्थ्य शुल्क वृद्धि गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध

नारायणपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको स्वास्थ्य शुल्क वृद्धि गर्ने निर्णयविरुद्ध चौतर्फी विरोध भएको छ । प्रतिष्ठानले केही दिन अघि स्वास्थ्य सेवामा शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो ।

अस्पतालमा गुणस्तरीय तथा प्रभावकारी सेवा नहुँदै जनतालाई मारमा पार्ने गरी भएको शुल्क वृद्धिको निर्णय फिर्ता गर्न जिल्लास्थित सम्बद्ध निकायले आग्रह गरेका छन् । बिरामी भर्ना शुल्कमा रु २५ बाट रु १०० पु¥याइएको छ भने आकस्मिक बिरामी भर्ना शुल्कमा रु २५ बाट रु २०० पु¥याइएको छ । साथै सुत्केरी महिलाले प्रसूति गराएबापत सुत्केरी खर्च प्राप्त गर्दै आएकोमा उल्टो रु सात हजारदेखि रु १२ हजार लाग्ने भएपछि सर्वसाधारणदेखि अधिकारकर्मी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिले विज्ञप्ति नै जारी गरेर तत्कालको सेवा सुविधाकै अवस्थामा शुल्क वृद्धि गर्नु गलत भएको बताएको छ । तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालले दिँदै आएको सेवा सुविधामा गरेको कटौतीको कुराले सरोकार समितिको ध्यानाकर्षण भएको जनाएको छ । “अहिलेकै सेवा सुविधाको अवस्थामा शुल्क वृद्धि र पाई आएको सुविधा कटौतीले प्रतिष्ठानप्रति नै नकारात्मक भावना वृद्धि हुने भएकाले शुल्क वृद्धि नगर्न र पाई आएको सेवा सुविधा कायम गराउन जोडदार माग गर्दछौँ ।” संयोजक नारायण भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानको विषयमा प्रतिनिधिसभा सदस्य सांसद मेटमणि चौधरीले सरकारले स्वास्थ्य सेवालाई भरपर्दो, सर्वसुलभ र निःशुल्क बनाउने घोषणा गरे पनि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खिल्ली उडाएको बताए।  प्रतिष्ठानको कदमविरुद्ध नेकपा दाङ, राष्ट्रिय जनमोर्चा दाङ र नागरिक समाज दाङले समेत विज्ञप्ति जारी गरेर विरोध जनाएका छन् । साथै सांसद रेखा शर्माले सञ्चार माध्यममार्फत शुल्क वृद्धि फिर्ता लिन आग्रह गर्नुभएको छ भने मुख्यमन्त्री शङ्कर पोख्रेलले समेत शुल्क वृद्धि नगर्न आग्रह गरेका थिए ।