साहित्य

मन र मृत्यु

*सुरेन्द्र सिटौला*                                                                                                                                                                    -कविता

………………..

पन्चतत्व मिश्रित
अलौकिक आकृतिमा
चैतन्य प्रवेशले स्थापित
मेरो भौतिक अस्तित्वको आबधिक नासो
प्रकृति लाई जिम्मा दिदै
मृत्यु म बाट अदृश्य भै सक्यो ।
लाग्छ सदा सदाका लागि
अब मलाइ नभेट्ने गरि
उ टाढा कतै गै सक्यो ।

मृत्युलाई बिष्मृतीमा लिलाम गरेर
दौडेका मेरा आकान्छ्याका फरक जीबन रथहरु
उन्मुक्त साढे गोरु जस्तै
जीवनको सुन्दर कोठेबारीमा
जथाभावी कुद्धै छन् ।
इच्छा र आकान्छ्याको चक्रब्युहमा
निस्सासिएका मेरा कर्महरु
चक्रब्युह छिचोल्ने मेसो नपाइ
निष्काम कर्मको राजमार्ग छोडेर
कुबेरको दरबार हत्याउन खोज्दैछन् ।
सपनाको संसारमा
तरङ्गीत बिपनाहरु
मृत्युलाई बिर्सेर
अनन्त जिजिबिषाको
सुन्दर राजमहल रोज्दैछन् ।

म्यादी जीबनका बसन्तहरुमा
स्वार्थको बीउ रोपेर
सुगन्धित गुराँस फुलाउन खोज्दा
क्याक्टस र सिस्नु उम्रीए पछि
उदासिएका मौरी र भ्रमराहरु
मधुरस बनाउने मेरो श्रमशिबिरमा
अनुपस्थित भएछन् ।
भौतारिएका भ्रमरा र मौरीहरु
सोझा निमुखा मालीहरुले
निष्काम कर्म गरि फुलाएको
अर्कै सुन्दर फुलबारी तिर गएछन् ।

तरक्की र आर्जनको आबेशमा
मृत्युको म्याद बिर्सिएर
हौसिएको मेरो मन
जीबनको मीठो मधुरस नपाउदा
एकान्तमा एक्लै तडपिन्छ ।
भने जति घुस खुवाएर
मृत्युलाई फकाउन खोज्दा पनि
उ नमान्ने भए पछि
पश्याताप र हीनताबोधको चितामा
जोसिलो मेरो मन
किन किन आज भोलि एक्लै भडकिन्छ ।