पु.समाचार

प्रधानन्यायाधीश जबराले भने, ‘अब न्यायालय एक परिवार, एक घर र एक शक्ति भएर अगाडि बढ्छ’

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशको विवेकमाथि प्रश्न गर्न नमिल्ने बताएका छन् । जबराले अदालत र न्यायाधीशलाई वेद, कुरान वा बाइबलको संज्ञा दिदै प्रश्न गर्न नमिल्ने बताएका हुन् ।

बुधबार प्रधानन्यायाधीशको पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै जबराले भने ‘हाम्रो बारेमा तपाई किताबै लेख्नुस्, साहित्य लेख्नुस्, कविता लेख्नुस् । तर, विना तथ्य, विना आधार आक्षेप लगाउने काम भविश्यमा नहोस् ।’

‘अदालत र न्यायाधीश यति संवेदनशील विषयवस्तु हो, मुसलमानको कुरानजस्तो हो । हिन्दुको वेदजस्तो हो । इसाइको बाइबलजस्तो हो यो संस्था । सबै नागरिकको आत्मा हो ।’ जबराको भनाइ थियो ।

जबराले न्यायालय बचाउनु तपाईहरु पत्रकारको धर्म र दायित्व भएको बताए । यो संस्था बचाउनुभएन भने, यो संस्थाको संरक्षण गर्नुभएन भने, यो संस्थाप्रतिको तपाईहरुको दायित्व भुल्नुभयो भने संविधानले नागरिकले परिकल्पना गरेको स्वतन्त्र न्यायपालिका, निष्पक्ष न्यायपालिका, सक्षम न्यायपालिका र कानूनी शासनको न्यायपालिका प्राप्त गर्न सक्नुहुनेछैन ।’ प्रधानन्यायाधीश जबराले विगतमा गरेका कतिपय फैसलामाथि मिडियामा प्रश्न उठ्दै आएका छन् ।

त्यसैले पनि होला उनले बुधबार प्रशिक्षणकै शैलीमा भने– ‘न्यायाधीशको विवेकमा प्रश्न नगर्नोस् । ‘दायित्व र कर्तव्य भन्ने कुरा तपाईहरुले बुझ्नुपर्छ, अब भविश्यमा तपाईहरुबाट आशा राख्छु, न्यायालय र न्यायाधीशबारे लेख्दा तथ्यपरक होस् ।’

सबैभन्दा पहिले उनले सर्वोच्च अदालतका न्यायाधीशमा गुटबन्दी किन हुन्छ भन्ने प्रश्नको जवाफ दिए।

‘तपाईंहरू आफैंले महसुस गर्नुभयो होला आजको यो कार्यक्रम विगतका प्रधानन्यायाधीशहरूको भन्दा भिन्न छ। विगतमा कार्ययोजना सुनाउन एक्लै प्रधानन्यायाधीश आउँथे आज हामी सबै आएका छौं,’ उनले भने, ‘अब यसैगरी न्यायालय एक परिवार, एक घर र एक शक्ति भएर अगाडि बढ्छ।’

स्वतन्त्र न्यायलयका लागि न्यायाधीशहरू सधैँ एकमत भए पनि केही समययता बाहिर एक छैनन् भन्ने भ्रम फैलिएको उनको जिकिर छ।

‘हामी त कहिलै विभाजित छैनौं तपाईंहरूमा मैले त्यो भ्रम देखें,’ उनले भने, ‘न्यायाधीशरू हिजो पनि विभाजित थिएनन्, आज पनि छैनन् र भोलि त झन् हुने छैनन् भन्ने म यहाँहरूसमक्ष स्पष्ट पार्न चाहन्छु।’