खेलकुद

३३ वर्षपछि सङ्कटा क्लब दोस्रो स्थानमा

काठमाण्डाै ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबले दोस्रो स्थान पक्का गरेको छ ।

आज ललितपुरस्थित एन्फा मैदानमा भएको १२ औँ चरणको खेलमा थ्री स्टार क्लबलाई २–१ गोलले पराजित गर्दै सङ्कटा क्लबले दोस्रो स्थान पक्का गरेको हो । जारी लिगमा १२ खेलबाट २८ अङ्क जोड्दै सङ्कटाले दोस्रो स्थान पक्का गरेको छ । दोस्रो स्थान पक्का गरेसँगै सङ्कटाले रु ३५ लाख प्राप्त गर्नेछ । उपाधि विजेता टोलीले भने रु ५० लाख प्राप्त गर्नेछ ।

सङ्कटा क्लबले ३३ वर्षपछि ‘ए’ डिभिजन लिगमा उच्च स्थान हासिल गरेको हो । सङ्कटाले यसअघि २०४२ सालमा लिगको उपाधि जितेपछि लिगमा सबैभन्दा उच्च प्रदर्शन यसपटकको लिगमा हात पर्न सफल भयो । तीन पटकको लिग च्याम्पियन सङ्कटा लिगको शुरुआतदेखि नै राम्रो लयमा देखिएको थियो । उपाधि मनाङले लगेपछि दोस्रो स्थानको होडमा रहेको अर्को क्लब थ्री स्टारलाई हराउँदै उसले दोस्रो स्थान हासिल गर्यो ।

खेलमा शुरुआती अग्रता जोगाउन नसक्दा थ्री स्टार पराजित भएको हो । सङ्कटालाई जित दिलाउन अमित तामाङले दुई गोल गरे । दुवै गोल अमितले पेनाल्टीमार्फत गरेका थिए । थ्री स्टारका रञ्जन विष्टले एक गोल गरे ।

खेलको ३० औँ मिनेटमा रञ्जनले गोल गर्दै थ्री स्टारलाई शुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४२ औँ मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै सङ्कटालाई खेलमा फर्काए । थ्री स्टारका सुनिल बलले आफ्नो डिबक्समा गल्ती गरेपछि पाएको पेनाल्टीमा अमितले गोल गरेका हुन् ।

पहिलो हाफ एक÷एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा सङ्कटाले थप एक गोल फर्कायो । ६३ औँ मिनेटमा थ्री स्टारका विक्रम लामाले सङ्कटाका सौजन राइलाई पेनाल्टी बक्सभित्र लडाएपछि सङ्कटाले दोस्रो पेनाल्टी पाएको थियो । जसमा अमितले पुनः गोल गर्दै सङ्कटालाई २–१ को जित दिलाए । खेलमा अमित म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । तेस्रो स्थानमा रहेको थ्री स्टारको १२ खेलबाट २३ अङ्क छ ।

तेस्रो स्थानको टुङ्गो भने १३ औँ चरणको खेलपछि मात्र लाग्नेछ । जारी लिगमा थ्री स्टारको २३ र त्रिभुवन आर्मी क्लब चौथो स्थानमा छन् । दुवै टोलीले एक÷एक खेल्न बाँकी छ । अन्तिम खेलमा जित हासिल गरे थ्री स्टार तेस्रो हुनेछ । पराजय वा बराबरीको नतिजा आए र आर्मीले अन्तिम खेलमा जित निकाले आर्मी तेस्रो हुनेछ ।

ओलावाले र धिमाल उच्च गोलकर्ता :

जारी लिगको १२ औँ चरणका खेल सकिदासम्म मनाङ्का अफिज ओलावाले र थ्री स्टारका रञ्जित धिमाल उच्च गोलकर्ता रहेका छन् । दुवै खेलाडीले समान सात÷सात गोल गर्न सफल भएका छन् ।

त्यसैगरी हिमालयन शेर्पाका विश्वास श्रेष्ठले छ तथा थ्री स्टारका रञ्जन विष्ट, एपिएफका युवराज खड्का, मनाङका अञ्जन विष्ट र सङ्कटाका अमित तामाङले समान पाँच÷पाँच गोल गर्न सफल भएका छन् ।

बाह्रौँ चरणका खेल समाप्तिसँगै शत प्रतिशत नतिजासहित मनाङ ३६ अङ्कका साथ उपाधि रक्षा गर्दै पहिलो स्थानमा छ भने २८ अङ्कका साथ सङ्कटाले पनि दोस्रो स्थान सुरक्षित गरेको छ । तेस्रो स्थानको थ्री स्टारको २३, चौथो स्थानको त्रिभुवन आर्मी क्लबको २२, पाँचौ स्थानको एपिएफको २०, छैटौँ स्थानको नेपाल पुलिस क्लबको १८, सातौँ स्थानको हिमालयन शेर्पाको १७ अङ्क रहेको छ ।

त्यसैगरी ‘ए’ डिभिजन लिगमा नवप्रवेशी च्यासल युथ क्लब १५ अङ्कसहित आठौँ, १३ अङ्कसहित सरस्वती युवा क्लब नवौँ, १२ अङ्कका साथ जावलाखेल युथ क्लब १० औँ, समान नौ÷नौ अङ्क रहेको ब्रिगेड ब्वाइज र फ्रेन्ड्स क्लब क्रमशः ११आँै र १२ औँ, सात अङ्क रहेको मछिन्द्र १३औँ र छ अङ्क रहेको न्युरोड टिम (एनआरटी) तालिकाको अन्तिम स्थानमा रहेका छन् ।