समाचार

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन अध्यक्ष थापाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ ।

धुम्रबराहीस्थित केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले उक्त जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन पार्टीका प्रदेश, जिल्लालगायत सबै तहलाई निर्देशन दिएको नेता भुवन पाठकले जानकारी दिए ।

केन्द्रीय सदस्यहरु, विभागका प्रमुख र सदस्य सचिव र भातृ सङ्गठनका अध्यक्ष र महासचिवको सहभागिता रहेको बैठकले वाइड वडी जहाज खरिद प्रकरणमा संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले अनियमितता भएको ठहर गरेको विषयलाई गम्भीरतापूर्वक लिई तत्काल कारवाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।

आगामी फागुन १५ गतेदेखि ३० गतेसम्म राष्ट्रिय स्वाभिमानको जगेर्नाका लागि मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरिने बैठकले निणर्य गरेको छ । बैठकले सङ्गठन सुदृढीकरण अभियानमा सहभागी हुन केन्द्रीय कार्य समितिका प्रत्येक सदस्यले अनिवार्य रुपले प्रदेशसभा वा सङ्घमा आफ्नो निर्वाचन क्षेत्र छान्नुपर्ने, छानिएका निर्वाचन क्षेत्रको जानकारी एक हप्ताभित्र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने र निर्वाचन क्षेत्र छनोट नगरेका सदस्यलाई सङ्घ तथा प्रादेशिक निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैमा उमेदवार नबनाइने निर्णय गरेको छ ।