सुदूरपश्चिम

विपन्न परिवारलाई कुखुरा

मार्तडी । बाजुराको बडिमालिका नगरपालिका अन्तर्गतको पशु विकास शाखाले नगरपालिकाका चार वडाका ४० विपन्न परिवार र एकल महिलालाई कुखुरा वितरण गरेको छ । नगरपालिकाको पशु विकास शाखाले प्रति परिवार २० का दरले कुखुरा वितरण गरेको हो । शाखाले १, ७, ८ र ९ वडाका विपन्न र एकल महिलालाई कुखुराका चल्ला वितरण गरेको हो ।

विपन्न परिवारको दैनिक आयआर्जनमा वृद्धि गर्न बल्याक अष्टोलोप र न्यूहेम्पसायर जातका कुखुराका चल्ला वितरण गरिएको शाखा प्रमुख शङ्कर सिंहले जानकरी दिए । उनले कुखुरा व्यवसायबाट प्रत्येक परिवारको आयआर्जन गरेर जीवन धान्न सजिलो हुने भएकोले कुखुरा वितरण गरेको बताए ।

कार्यक्रमको प्रगति हेरेर त्यसकै आधारमा अर्को वर्ष पनि व्यवसाय हेरेर थप कुखुरा वितरण गर्ने शाखा प्रमुख सिंहको भनाइ छ । कुखुरा वितरणपछि नगरपालिकाभित्रका प्रत्येक वडाका दलित परिवार र विपन्न समुदायका एकल महिला बढी लाभान्वित भएका छन् । कुखुरापालन व्यवसायले आफ्नो परिवारको दैनिक आयआर्जनमा सहयोग हुने भएपछि एकल महिला र विपन्न परिवार खुशी भएका छन् । नगरपालिकाको आर्थिक सहयोग तथा पशुविकास शाखाको वार्षिक कार्यक्रम अनुसार उन्नत जातका कुखुराका चल्ला वितरण गरिएको नगर प्रमुख पदम बडूवालले बताए।