समाचार

सरोकार समितिको त्रैमासिक कार्ययोजना पारित

काठमाडौँ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले त्रैमासिक कार्ययोजना पारित गरेको छ । समितिको आजको बैठकले कार्यक्षेत्रअन्तर्गतका विषयको कार्ययोजना बनाएको हो । सभापति दिलकुमारी रावल थापाको सभापतित्वमा बसेको बैठकले समितिको कार्यक्षेत्रबारेमा सातवटै प्रदेशमा अन्तक्र्रिया गर्ने निर्णय गरेको छ ।

समितिले पुस २३ गते कर्मचारी समायोजनका बारेमा सरोकार भएका निकायका अधिकारीलाई बोलाएर अन्तक्र्रिया गर्ने जनाएको छ । अन्तक्र्रियामा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, सचिव दिनेशकुमार थपलिया, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सचिव राजीव गौतम, आधिकारिक ट्रेड युनियनका अध्यक्ष र महासचिव, सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष एवं सचिवलगायतलाई बैठकमा आमन्त्रण गरिएको समिति सचिव सुदर्शन कुइँकेलले राससलाई जानकारी दिए । पुस २३ गतेपछि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाका बारेमा सरोकार भएका सबै निकायका अधिकारीलाई बोलाएर अन्तक्र्रिया गर्ने कार्ययोजना बनाइएको उनले सुनाए ।