समाचार

सरकारी मुद्दा प्रभावकारी बनाउन वकिललाई तालीम

काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले सरकारी पक्षका मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि सरकारी वकिललाई विषयगत रुपमा विशिष्टीकरण तालीम दिएको छ । महान्यायाधिवक्ता कार्यालयको दोस्रो पञ्चवर्षीय योजनाअनुसार सरकारी मुद्दालाई प्रभावकारी रुपमा बहस गर्नका लागि विशिष्टीकरणको तालीम दिइएको हो । अहिलेसम्म महान्यायाधिवक्ता कार्यालयले सरकारी वकिललाई संवैधानिक कानून र राजश्व कानूनमा तालीम दिइसकेको छ ।

सरकारी वकिल कुनै पनि विषयमा पोख्त नहुँदा प्रायः सरकारी पक्ष मुद्दा हार्ने गरेको थियो । महान्यायाधिवक्ता कार्यालयका सह–न्यायाधिवक्ता सञ्जीवराज रेग्मीले सरकार पक्षका मुद्दामा सरकारी वकिललाई प्रभावकारी रुपमा बहस गराउनको लागि तालीम दिएको बताए । “विश्वविद्यालयको पाठ्यक्रममा कानूनका सामान्य कुरा मात्र पढाइ हुन्छ । मुद्दासम्बन्धी केन्द्रित गरेर पढाइ हुँदैन” उनले भने, “त्यसैले सरकारी पक्षबाट मुद्दा लड्ने सरकारी वकिललाई प्रभावकारी रुपमा प्रस्तुत हुनका लागि तालीम आयोजना गरिएको हो ।

कार्यालयका प्रवक्तासमेत रहनुभएका रेग्मीले तालीमपछि सरकारी पक्षका मुद्दा प्रभावकारी भएको बताए । उनका अनुसार पञ्चवर्षीय योजनामा कार्यालयले संवैधानिक कानून, राजश्व कानून, भ्रष्टाचारसम्बन्धी कानून, सङ्गठित अपराध, बैंकिङ कसुर, साइवर अपराध र कर्मचारीको सेवासम्बन्धी कानूनमा तालीम दिइने छ । कार्यालयले जनसरोकारका अदालतमा बढी मुद्दा पर्ने विषयमा तालीम दिइएको हो । कार्यालयले १५ दिनको पाठ्यक्रम बनाएर ३० वटा कक्षा सञ्चालन गर्ने गरेको छ । उनले अब तीन वर्षभित्र २५ जनाका दरले बाँकी छ वटा विषयमा तालीम दिइने बताए । कार्यालयले विषयगत प्राथमिकताका आधारमा तालीम सञ्चालन गरेको छ ।