गण्डकी प्रदेश

विद्यार्थीलाई खेलकूद पोशाक वितरण

गलकोट । विद्यालयको वार्षिकोत्सवको अवसरमा यहाँको एक विद्यालयले विद्यार्थीलाई खेलकूद पोशाक वितरण गरेको छ । बागलुङ नगरपालिका–५ मालिकामा रहेको कृष्ण आधारभूत विद्यालयको ५८औंँ वार्षिकोत्सवको अवसरमा खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्ययन गर्ने ६७ जना विद्यार्थीलाई रु ७० हजार बराबरको खेलकूद पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताए। विद्यालयले देउसी भैलो खेलेर सङ्कलन गरेर निर्माण गरिएकोे आर्थिक कोष र विद्यालय प्रेमीले विद्यालयमा स्थापना गरेको अक्षयकोषको ब्याजवापतको रकमबाट खेलकूद पोशाक वितरण गरिएको सापकोटाले बताए ।

पछिल्लो समयमा विद्यार्थीलाई पढाइसँगै खेलकूदतर्फ आकर्षित गराउन खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा हालै विद्युतीय हाजिरी मेसिन र सुझाव पेटिकाको व्यवस्था समेत गरिएको छ । चार कक्षासम्म अङ्ग्रजी माध्यमबाट पढाइ भइरहेको स्कुलमा प्रोजेक्टरको माध्यमबाट अध्यापन गर्न थालेपछि पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्न थालको छ । बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले विद्यालय आधुनिक प्रविधिमैत्री बन्दै अगाडि बढेकाले नमूना विद्यालय बनाउन आफूले सक्दो सहयोग गर्ने बताए ।