प्रदेश 1

विद्युत् र टेलिफोन नहुँदा गाउँपालिकाको काम प्रभावित

खोटाङ । विकासको हरेक खुड्किला पार गर्न विद्युत् र टेलिफोन अति आवश्यक पूर्वाधार हुन् । विकासको मुख्य पूर्वाधार सडक हो तर, सँगै टेलिफोन र विद्युत् भएन भने विकास सार्थक हुँदैन भन्ने उदाहरण जन्तेढुङ्गा गाउँपालिकालाई हेरे पुग्छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने छ वटा वडा रहेको जन्तेढुङ्गा गाउँपालिकामा विद्युत् र सञ्चारको विकास हुन सकेको छैन । स्थानीय तह गठन भएको डेढ वर्षको अवधिमा गाउँपालिकाले प्रत्येक वडा कार्यालयसम्म पुग्ने मोटरबाटो त बनायो, स्तरोन्नतिका लागि भने अझै पनि सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ तर, उक्त स्थानीय तहका अधिकांश ठाउँमा विद्युत् र टेलिफोनको सुविधा छैन ।

गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर राईले आगामी तीन महीनाभित्र गाउँपालिका कार्यालय रहेको स्थान चिसापानीमा केन्द्रीय प्रसारणको विद्युत् बाली सक्ने बताउका छन्। “अहिले बजार क्षेत्रका प्रत्येक घरमा वायरिङ गरिसकिएको छ ।” उनले भने, “चाँडै नै विद्युत्को केन्द्रीय लाइन जोडिन्छ । त्यसपछि गाउँपालिकाको सबै वडा अन्धकारमुक्त बन्छ ।”

गाउँपालिका उपाध्यक्ष विमला राईले विकासको हरेक गतिविधिलाई यिनै विद्युत् र सञ्चारले अवरोध गरेको बताए । विद्युत् र सञ्चारको कारण यहाँका विकास समेत ओझेलमा परेको उनको भनाइ छ ।

स्थानीय जनप्रतिनिधि र कर्मचारी निरन्तर गाउँपालिकाको समृद्धिको लागि लागिरहेका छन्, निरन्तर काम गरिरहेका छन् तर, गरेको गतिविधि सार्वजनिक नहुँदा यहाँको विकास ओझेलमा परेको उपाध्यक्ष राईको अनुभव छ । गाउँपालिकाका प्रत्येक वडासम्म विद्युत् विस्तार र सञ्चारको पहुँच स्थापित गर्न गाउँपालिकाले केही बजेटको समेत व्यवस्था गरेको पाइएको छ । प्रत्येक वडामा टेलिफोन सञ्चालन गर्ने गरी रिपिटर टावर राख्न नेपाल टेलिकमसमक्ष माग गरिएको जनाइएको छ ।

त्यसो त यस क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण टेलिफोन, मोबाइल सोलारको भरमा सञ्चालन हुने गरेको छ । विद्युत् नहुँदा टेलिफोन मात्र होइन दैनिक कामकाजमा समेत सास्ती हुने गरेको पाइएको छ ।

स्थानीय तहले यसतर्फ गम्भीर भएर लाग्नुपर्ने जरुरी रहेको स्थानीयवासीले बताएका छन् । स्थानीय तह लागू भएको लामो समय बितिसक्दा पनि विद्युत् र टेलिफोन विस्तारमा जनप्रतिनिधिले चासो नदिएको उनीहरुको आरोप छ ।