बाग्मती

विद्यालय पुनःनिर्माण अझै एक वर्ष

काभ्रेपलाञ्चोक । भूकम्पबाट क्षतिग्रस्त सामुदायिक विद्यालयको पुनःनिर्माणमा अझै एक वर्ष लाग्ने भएको छ ।

जिल्लाका ५८७ सामुदायिक विद्यालयमध्ये २८ विद्यालय एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको जिल्ला शिक्षा समन्वय एकाइ धुलिखेलले जनाएको छ । यसमध्ये आठ विद्यालय समुदायलाई हस्तान्तरण भइसकेको छ भने अन्य निर्माणाधीन विद्यालयको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

आउँदो २०७७ सालभित्र सामुदायिक विद्यालयको पुनःनिर्माण सकिने विद्यालय पुनःनिर्माण आयोजना एकाइ प्रमुख निर्मलकुमार घिमिरेले बताए । उनका अनुसार समयमा विद्यालय छनोट नहुनु, रकम निकासामा ढिलाइ हुनु तथा केही विद्यालयमा जमीनको स्वामित्वसम्बन्धी विवादका कारण विद्यालय भवन पुनःनिर्माणमा ढिलाइ भएको हो । उनले भने, “२०७७ भित्र सामुदायिक विद्यालयको पुनःनिर्माण सक्ने योजनामा छौँ ।”

काभे्रलाञ्चोकको ६९० विद्यालयमध्ये १०३ संस्थागत विद्यालय छन् । भूकम्पबाट क्षतिग्रस्त विद्यालयले पुनःनिर्माण तथा अस्थायी अध्ययन केन्द्रमार्फत अध्यापन सञ्चालन गरिरहेको एकाइ प्रमुख घिमिरेले बताए । उनका अनुसार जिल्ला कार्यान्वयन एकाइको अनुदानमार्फत १९३, सङ्घ संस्थाबाट ३५ गरी २२८ विद्यालय पुनःनिर्माण भइरहेको हो ।

करीब ५० प्रतिशत विद्यालयको पुनःनिर्माण बाँकी छँदा एक वर्षमा सकिने एकाइको दाबी छ । एकाइ प्रमुख घिमिरे भन्नुहुन्छ, “५० प्रतिशत निर्माण सम्पन्न भयो, करीब ३० प्रतिशत निर्माणाधीन अवस्थामा छन्, अबको एक वर्षमा पुनःनिर्माण सक्नेछौँ ।”