राजनीति

पैसाको प्रलोभनमा धर्म परिवर्तन गराउनेलाई कारबाही गर्नुपर्छः डा कोइराला

काठमाडौँ । मोरङका जाडोबाट पीडितलाई न्यानो कपडा बाँडेर एकाएक स्थानीय जनताको मन जित्न सफल भएका नेपाली काङ्ग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा उनले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरे । उनले काङ्ग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताएका छन् ।

‘नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,’ उनले भने । उनले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पारे । धर्ममा राजनीति गर्न नहुने विचार ब्यक्त गर्दै राजनीति र धर्म अलग धार भएको प्रभाबशाली नेता डा. कोईरालाको थियो । उनले पैसाको प्रलोभनमा धर्म परिवर्तन गराउनेलाई कारबाही गनुपर्ने विचार समेत उक्त कार्यक्रममा ब्यक्त गरेका छन् ।