पु.समाचार

बालबालिकाले सोधे-निर्मला हत्याको अनुसन्धान के हुँदैछ ? प्रधानमन्त्री भन्छन्-दोषीहरुको खोजी भइरहेको छ

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले निर्मला पन्तको हत्यारा पत्ता नलाग्नु सिंगै मानव सभ्यता र चिन्तनकै लागि चुनौतिपूर्ण भएको बताएका छन् ।

ओलीले निर्मलाका दोषी पत्ता लगाउने विषयमा सरकार गम्भीर रहेको समेत बताए । नेपाल स्काउटले मंगलबार गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा विद्यार्थीहरुले, निर्मला पन्त बलात्कार र हत्या घटनाको अनुसन्धान के हुँदैछ ? भनेर राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ। उनीहरु पत्ता लाग्छन्।’

‘यस्तो घटना हुनु नै हुँदैन थियो तर यो सरकारले घटाएको होइन । अपराधिहरुले घटाएको हो । अपराधिलाई खोजेर कारबाही गर्नुपर्छ । यसमा विभिन्न टोलि बनाएर सरकार लागिरहेको छ ।’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले पन्तको बलात्कारपछिको हत्याको घटना आश्चर्यजनक भएको पनि बताए । बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको उनको भनाइ थियो ।

‘प्रहरीले सुरुमा केही गल्तीहरु गरेको देखिन्छ । प्रहरीले त्यो गल्ती किन गर्‍यो भनेर प्रहरीकै एक पछि अर्को टिम, गुप्तचरहरुसमेत पठाएर अनुसन्धान भइरहेको छ । पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेका छौं’ प्रधानमन्त्री ओलीले भने, ‘तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

उच्चस्तरीय छानबिन समिति गठन गरेर अनसुन्धान भइरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल प्रहरीले यस्ता घटना अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ। अपराधी पत्ता लगाउन मैले पटक-पटक निर्देशन पनि दिएको छु।’

पन्तको बलात्कारपछि हत्या घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रियामा लैजान सुरुआती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको प्रधानमन्त्रीले स्वीकार गरेका उनको सचिवालयले जनाएको छ ।

साउन १० गते साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा मृत भेटिएकी थिइन् ।