खेलकुद

कर्णाली प्रदेश कपको उपाधि सुर्खेतलाई

रुकुम (पश्चिम) । कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित नाखिरा खेलमैदानमा भएको फाइनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो ।

फाइनलमा सुर्खेत १४ रनले विजयी भयो । टस जितेर ब्याटिङमा उत्रिएको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६० रन बनाएको थियो । विजयका लागि भविन सारु मगरले नट आउट ४० र टेक सलामिले पनि ४० रन बनाए ।

जाजरकोटका लागि प्रणम भडेलले ३ र केशर अधिकारीले २ विकेट लिए । १६१ रनको लक्ष्य पछ्याएको जाजरकोटले १४६ रन मात्र बनाउन सक्यो । निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा जाजरकोटले उक्त योगफल खडा गरेपनि जित भने हासिल गर्न सकेन ।

जाजरकोटका लागि पद्मराज भण्डारीले सर्वाधिक ७१ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले राम्रो अङ्कमा रन बनाउन नसकेपछि जाजरकोट पराजित हुन पुग्यो । सुर्खेतका कप्तान रवीन्द्रजङ्ग शाहीले ४ तथा ललित प्याकुरेलले २ विकेट लिए ।

विजेता सुर्खेतले नगद रु एक लाखसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता जाजरकोटले रु ६० हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिए ।

प्रतियोगीताको म्यान अफ द सिरिज कालिकोटका सुनिल भण्डारी, बेष्ट ब्याट्सम्यान सुर्खेतका रविन्द्रजङ्ग शाही, बेष्ट बलर आयोजक रुकुमका युवराज केसी, इमर्जिङ प्लेयरमा सुर्खेतका टोपेन्द्र जिसी र लोकल इमर्जिङ प्लेयर आयोजक रुकुमका धनजित खड्का घोषित भए ।

उनीहरुलाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । गत पुस १० गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेको प्रतियोगितामा आयोजक रुकुम, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट, डोल्पा र जुम्ला जिल्लाले सहभागिता जनाएका थिए ।

यो जिल्ला र कर्णाली प्रदेशकै हालसम्मको ठूलो क्रिकेट प्रतियोगिता प्रतियोगिता भएको जिल्ला क्रिकेट सङ्घ रुकुमले जनाएको छ । यस प्रतियोगितालाई वर्षेनी निरन्तर रुपमा सञ्चालन गरिने जिल्ला क्रिकेट सङ्घ रुकुमका अध्यक्ष बाँठामगरले बताए ।