खेलकुद

घरेलु मैदानमा आर्सनलको जित, शीर्ष स्थानका ४ टोलीसंग दूरी घटाउन सफल

काठमाण्डौ । इंग्लिश प्रिमियर लिगमा आर्सनल विजयी भएको छ । पछिल्ला खेलमा उच्च प्रदर्शन गर्न नसकेको आर्सनलले नयाँ वर्षको पहिलो दिन फुलहमलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

मंगलबार आर्सनलको खरेलु मैदानमा भएको खेलमा पाहुना टोली फुलहमलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्सनलले शीर्ष चार स्थानमा रहेका टोलीसंगको अंक दूरी कम गर्न सफल भएको छ । खेलको पहिलो हाफमा आर्सनलका ग्रानिट जाकाले २५ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । फुलहमले गोल फर्काउने प्रयत्न गरेपनि सफल हुन सकेन ।

खेलको दोस्रो हाफकाे ५५ ‌औ‌ं मिनेटमा आर्सनलका एलेक्जेन्डर लाकाजेट्सले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । फुलहमले खेलमा फर्कने प्रयत्न गरि नै रह्याे र खेलकाे ६९ औं  मिनेटमा अवुबाकर कामराले गरेकाे गाेलकाे मद्धतमा खेल २–१ काे स्थितिमा आएकाे थियाे । त्यस लगतै आर्सनलका लागि ७९ औं मिनेटमा आराेन राम्सेले गाेल गर्दै खेललाई ३–१ काे स्थितिमा ल्याएका थिए ।

८३ औं  मिनेटमा पेरिक एम्रिक आबुमियाङले आर्सनलका लागि बिजयी गाेल गरेका  थिए । यो जित संगै आर्सनल २१ खेलबाट ४१ अंक सहित लिगको पाँचौ स्थानमा यथावत रहेको छ भने पराजित फुलहम २१ खेलबाट १४ अंक सहित रेलिगेसन जोनको दोस्रो नम्वरमा रहेको छ ।

उता २० खेल खेलेको लिभरपुल ५४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेल खेलेको म्यान्चेष्टर सिटी ४७ अंक सहित दोस्रो स्थानमा रहेको छ । टोटेनह्याम र चेल्सी क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् ।