आर्थिक

हाब्रेको छाला ओसारपसार मुद्दाका प्रतिवादी जेल चलान

काठमाडौँ । दुर्लभ वन्यजन्तु रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा फरार एक व्यक्ति आज जेल चलान भएका छन् काठमाडौँ जिल्ला अदालतको गत फागुन १५ गतेको फैसलाले पाँच वर्ष कैद तोकिएका नुवाकोट शिवपुरी गाउँपालिका २ का अशोक भन्ने श्यार्पा तामाङ जेल चलान भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटीएको टोलीले सोमबार बेलुका काठमाडौँ सामुखुसीबाट उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले आजै कैद भुक्तानीका लागि जेल चलान गरिएको हो ।

रेड–पाण्डाको छाला ओसारपसार तथा बिक्रिबितरण हुँदैछ भन्ने सुचनाका आधारमा प्रहरीले गएको भदौमा काठमाडौं तारकेश्वर नगरपालिका १० मनमैजुबाट रेडपाण्डाको छालासहित उनलाई पक्राउ गरेको थियो । उक्त मुद्धामा अदालतबाट माग भएको धरौटी वापत जेथा जमानीमा तारेखमा रहेको तामाङ अदालतको फैसला पछी फरार रहेका थिए ।

रेड–पाण्डाको छाला बिक्री वितरणमा संलग्न सोही मुद्दाका अर्का व्यक्ति सन्तोषकुमार तामाङ यसअघि नै जेल चलान भैसकेका व्यूरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।