अन्तर्राष्ट्रिय

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको शपथ ग्रहण

साओ पाउलो । ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोले मङ्गलबार राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन्। दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति बोल्सोनारोको कार्यकालमा आमजनताले ठूलो आशा र भरोसा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका “फ्यान” बताउने ६३ वर्षीय बोल्सोनारो आफ्ना भ्रष्टाचार विरोधी अभियान र बन्दुक राख्न दिने नीतिको पक्षधरका कारण शक्तिमा पुग्नुभएको हो । पूर्व सैनिक बोल्सोनारोका नीतिलाई ब्राजिलका रुढीवादी र दक्षिणपन्थीहरुले खुलेर प्रशंसा गरेका छन् ।

यसअघि लगातार चार पटक बामपन्थी रुझानको वर्कर्स पार्टीका नेताहरु राष्ट्रपतिमा विजयी भएका थिए । सत्तारुढ दलमाथिको तीव्र विरोध गरेकै कारण बोल्सोनारो विजयी भएको बताइन्छ ।

ब्राजिलको राजधानी साओ पाउलोमा बोल्सोनारोको सपथ ग्रहणमा लाखौं मानिस भेला हुने अपेक्षा गरिएको छ । सपथ कार्यक्रममा भाग लिन विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख एवं प्रतिनिधि सहभागी हुँदैछन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ पनि साओ पाउलो पुगेका छन् ।

ब्राजिलमा उच्च सुरक्षा व्यवस्था गरिएको छ । कार्यक्रमलाई सफल बनाउन तीन हजार प्रहरी खटाइएको छ । सैनिक ट्याङ्क, लडाकू विमान र विमानभेदी क्षेप्यास्त्र पनि प्रदर्शन गरिँदैछ ।

कार्यक्रममा सुरक्षा व्यवस्था उच्च पार्न बोल्सोनारोले नै आग्रह गरेका हुन् । सेप्टेम्बरमा चुनावी र्यालीमा छुरा प्रहार गर्दा बोल्सोनारो स्वयम् गम्भीर घाइते भएका थिए । बोल्सोनारोका छोराले अतिवादीले फेरि पनि बुबामाथि आक्रमण हुने खतरा औंल्याएका छन्, तर सुरक्षा अधिकारीहरुले यस बारेमा केही बोलेका छैनन् ।

बोल्सोनारोका वातावरण, विवाह र आर्थिक नीतिहरुमाथि चौतर्फी विरोध शुरु भइसकेको छ । संविधान र स्वतन्त्रताको अपहरण हुने र दक्षिणपन्थी अतिवाद हावी हुने अनुमान केही विश्लेषकले गरेका छन् ।

बोल्सोनारोको २२ सदस्यीय मन्त्रिपरिषदमा सात जना पूर्व सैनिक रहेकाले पनि त्यो आशंका व्यक्त गरिएको हो । सन् १९६४ देखि १९८५ सम्मको प्रशासन बाहेक अरु समयमा यति ठूलो संख्यामा सैनिकहरु मन्त्रिपरिषदमा सामेल थिएनन् । विपक्षीहरुले सैनिक तानाशाही शासन व्यवस्थाको पुनरागमन हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । तर, बोल्सोनारोले मुलुकको संविधानलाई पूर्ण सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।