अन्तर्राष्ट्रिय

चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । चीन र संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिहरुले दुबै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चिनीया सरकारी सञ्चार माध्यमहरुले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुबै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको छ ।

सन् २०१८ मा बेइजिङ र वासिङटनबीच व्यापार विवादका कारण तनावका स्थिति रहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्धविराम गर्दै करवृद्धिको नयाँ योजना कार्यान्वयन गर्नुभएको छैन । गत शनिबार मात्र अमेरिकी राष्ट्रपतिले चिनीया राष्ट्रपति सी जिनपिङलाई टेलिफोन गरी नयाँ वर्षमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने बताउनुभएको सञ्चार माध्यमले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिलाई पठाउनुभएको सन्देशमा चिनीया राष्ट्रपति सीले दुबै मुलुकबीच समन्वय, सहयोग र स्थायित्व ल्याउन मिलेर कार्य गर्न चीन उत्सुक रहेको बताउनुभएको छ । चिनीया समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचको चार दशक लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्न अमेरिका तत्पर रहेको बताउनुभएको छ ।

पछिल्लो वर्ष चीन र अमेरिकाले एकअर्का मुलुकका करिब ३०० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका थिए । चिनीया व्यापारिक अभ्यासहरु अनुचित रहेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले चीन विरुद्ध व्यापारिक युद्ध नै चलाउनुभएको थियो । चीनका व्यापारिक अभ्यासप्रति युरोपेली युनियन र जापानले पनि असन्तोष प्रकट गरिरहेका थिए ।

तर, ब्युनस आयर्समा सम्पन्न औद्योगिक राष्ट्रहरुको शिखर बैठक ९जी–२०० का अवसरमा दुबै राष्ट्रप्रमुखबीच तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । व्यापारका क्षेत्रमा देखिएका विवादका विषयमा चीन र अमेरिकाबीच गम्भीर विचार विमर्श गर्ने सहमति उक्त भेटमा भएको थियो ।

चीन र अमेरिकाबीच जनवरी १, १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । यहीवर्ष चीनका नेता देङ सियाओपिङले संयुक्तराज्य अमेरिकी राष्ट्रपति जिम्मी कार्टरलाई वासिङटनमा भेट गर्नुभएको थियो । त्यसयता दुबै मुलुकबीचको सम्बन्धमा नाटकीय रुपमा परिवर्तन आएको छ । विगत ४० वर्षमा ताइवान, मानव अधिकार र व्यापारका विषयमा चीन र अमेरिकाबीचको सम्बन्धमा उतारचढाव आएका छन् ।