अन्तर्राष्ट्रिय

इरान बाहेक अरब मुलुकहरु इजरायलका मित्र हुन् – नेतान्याहु

रियो दे जेनेरियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान बाहेकका अरब मुलुकहरु इजरायलका मित्रराष्ट्र रहेको बताउनुभएको छ । उहाँले इरान र इस्लामिक स्टेट विरुद्धको गठबन्धनमा इजरायल र अरब मुलुक एकै ठाउँमा उभिएको बताउनुभयो । रियो भ्रमणका क्रममा ब्राजिल आइपुग्नुभएका नेतान्याहूले इरानले आफ्नो मुलुक इजरायललाई ध्वस्त पार्न आणविक अस्त्र निर्माणको प्रयत्न गरिरहेको दाबी गर्नुभयो ।

इजरायलले छिमेकी मुलुक सिरियामा रहेका इरानी लडाकूहरुलाई लक्षित गरी हालैका दिनमा हवाई आक्रमणलाई तिब्र बनाएको छ । उहाँले हिंसामा विश्वास गर्ने इस्लामिक लडाकू र विचारधारामाथि इजरायलले जुध्नु परिरहेको चर्चा गर्दै इजरायलले हाल इरानद्वारा प्रबद्र्धित अतिवादी शिते समूह तथा इस्लामिक स्टेट र अल कायदाद्वारा प्रबद्र्धित अतिवादी सुन्नी समूह विश्वको शान्तिका लागि खतरा रहेको बताउनुभयो ।

ब्राजिलको ग्लोबो टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री नेतान्याहूले भन्नुभयो, “दुर्भाग्यवस, हामीले प्यालेस्टिनीका बारेमा कुनै प्रगति गर्न सकेका छैनौं । उनीहरुमध्ये आधाभन्दा बढी इरानी र अतिवादी इस्लामको प्रभावमा छन् ।” इरानी नेताहरुसँग वार्ताको कुनै सम्भावना छ कि भनी सोधिएको प्रश्नमा प्रधानमन्त्री नेतान्याहूले भन्नुभयो, “इरानले हाम्रो विनाश गर्न चाहँदासम्म त्यो सम्भव छैन । अब इरान पूर्ण रुपमा रुपान्तरित हुनुको विकल्प छैन ।”

नेतान्याहू इजरायलीका पक्षधर ब्राजिलका नवनिर्वाचित राष्ट्रपति जेयर बोल्सोनारोको राष्ट्रपतिको सपथ ग्रहण समारोहमा भाग लिन ब्राजिल पुग्नुभएको छ । यसैबीच, प्रधानमन्त्री नेतान्याहूले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गर्नुहुनेछ । विदेशमन्त्री पोम्पेओ पनि राष्ट्रपति बोल्सोनारोकोको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन ब्राजिलमा हुनुहुन्छ । भेटका क्रममा दुबै नेताबीच सिरियाबाट अमेरिकी सेनाको फिर्ता पछि उत्पन्न हुने परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।