समाचार

बलात्कारीलाई मृत्युदण्ड दिन माग

काठमाडौँ । सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गरेका छन् । प्रतिनिधिसभाको आजको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदण्ड हुनुपर्ने बताए ।

सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा पुतली बजार नगरपालिका १०, ११ र १२ का कृषकलाई राहत, पार्वती विसुङ्खेले कालीकोटमा भएको आगालागी पीडितलाई उचित व्यवस्थापन, प्रेमबहादुर आलेले अमरगढी बस दुर्घटनाका घाइतेको औषधि उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेका थिए ।

त्यसैगरी, सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानी जहाजका विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गर्नुभएको छ । “प्रधानमन्त्रीले २०७५ साल पुस १६ बाट नेपालमा पानी जहाज सञ्चालन हुन्छ भन्नुभएको थियो, तर पानी जहाज सञ्चालनमा आएन । त्यसैले उनबाट संसद्लाई जवाफ दिनुपर्छ”, उनले भने ।