समाचार

भ्रष्टाचार र हत्याहिंसा बढेको आरोप

हिलिहाङ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वाइड बडी जहाज खरीद प्रक्रियामा रु चार अर्ब बढी घोटाला भएको भनिए पनि सरकारले खरीद प्रक्रियामा संलग्नलाई कारवाही गर्न नसकेको आरोप लगाएका छन् ।

पाँचथरको फिदिममा आज बिहान पार्टीका कार्यकर्तासँगको भेटघाटमा पूर्वसिँचाइमन्त्री यादवले देशमा भ्रष्टाचार र हत्याहिंसा बढेको, ३३ किलो सुनकाण्डमा संलग्नलाई अहिलेसम्म पक्राउ गरी कारवाही गर्न नसकेको, निर्मला पन्त हत्याकाण्डका दोषी पत्ता लगाउन नसकेको जस्ता क्रियाकलापले सरकार कमजोर भएको विचार व्यक्त गरे ।

यस्तै विनाप्रतिस्पर्धा अरुण तेस्रो भारतलाई र बूढीगण्डकी चीनको कम्पनीलाई दिएर सरकारले भ्रष्टाचारको चरमसीमा नघाएको उनको भनाइ थियो । अहिले काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौड्यालबीच भावनागत एकता भइसकेको छ भन्दै उनले अब पार्टी एक ढिक्का भएर अघि बढ्ने बताए ।