बाग्मती

छैटौँ पोल्ट्री दिवस मनाइयो

चितवन । नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई आवश्यक दाना प्रतिदिन तीन हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।

कुखुराको मासु प्रतिदिन नौ लाख किलो उत्पादन हुँदै आएको छ । पोल्ट्री व्यवसायले एक लाख ७० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा रेवन्तकुमार भट्टराईका अनुसार पोल्ट्री व्यवसायले राष्ट्रिय आयमा चार प्रतिशत योगदान दिँदै आएको छ ।

नेपालमा आधुनिक पोल्ट्रीको शुरुआत भएको दिन विसं २०१७ पुस १७ गतेलाई स्मरण गर्दै २०७० सालबाट पोल्ट्री दिवस मनाउन लागिएको हो । दिवसको अवसर पारी आज भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामी र आफन्तलाई अण्डा वितरण गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा रेवन्तकुमार भट्टराईका अनुसार दुई अस्पतालका दुई हजार जनालाई अण्डा वितरण गरिएको हो ।

भरतपुर अस्पतालमा अण्डाको महत्वमाथि मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेल र फिजिसियन डा भोजराज अधिकारीले अण्डा र कुखुराको मासुमा पाइने तत्व कस्तो कस्तो बिरामीलाई उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी दिएका थिए । क्यान्सर अस्पतालमा डा कृष्णसागर पौडेलले अण्डा र कुखुराको मासुबाट हुने फाइदाबारेमा जानकारी दिएका थिए । कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष प्रा डा होमबहादुर बस्नेत, महासचिव डा रेवन्तकुमार भट्टराईले दिवसको वारेमा प्रकाश पारेका थिए ।