बाग्मती

चेपाङ बस्तीमा सडक

रत्ननगर । केही वर्षअघि चितवनको चेपाङ बस्ती पुग्न गोरेटो बाटो हिँड्नुपर्ने हुन्थ्यो तर अहिले अवस्था त्यस्तो छैन । स्थानीय तहको निर्वाचन भएसँगै यहाँको पूर्वाधार विकासले गति लिएको छ । चेपाङ बस्ती जोड्ने साँघुरा, गोरेटा बाटो अहिले छ देखि आठ मिटरसम्म ग्राबेल भएका छन् ।

चेपाङको बाहुल्य रहेको कालीकानगरपालिका–११ मा वडातहको अधिकांश बजेट सडक निर्माणमा लगानी भएको छ । यसले कोराक, सिद्धीलगायतका बस्तीका सडकसँग सहज तरिकाले जोडिन सहयोग पुग्छ । क्रयाइलिङदेखि मजवाङसम्म करीब तीन दशमलव दुई किमी सडकमा आठ मिटरको ट्र्याक खोल्ने काम भएको छ । रु ३० लाख खर्चेर सो बाटो निर्माण हुँदैछ । रन्तेसदेखि गामीडुङसम्मको करीब दुई किमी ट्र्याक खोल्ने काम भएको छ । यो सडकमा रु २० लाख खर्च भएको छ । यस्तै दौतेसदेखि गिरेक भञ्ज्याङसम्म करीब तीन किमी सडक बनेको छ । यो सडक बनाउन रु १० लाख खर्च भएको छ । त्यस्तै छ मिटरको ट्र्याक खोलिएको जाम्वालिङ सडकमा रु २० लाख खर्च भएको छ । वडाले लालीवाङदेखि रन्तेससम्मको करीब चार किमी नालासहितको सडक बाटो निर्माण गर्दैछ । यस्तै मजवाङदेखि गोरखलिङसम्मको दुई किमी सडकमा रु ११ लाख खर्च हुनेछ । सैपाम्पदेखि बाँसघारीसम्म करीब चार किमी सडक बन्दैछ ।

वडाले चालु आर्थिक वर्षका लागि कुल रु एक करोड ३४ लाख विकास बजेट विनियोजन गरेको छ । वडाध्यक्ष कृष्णबहादुर प्रजाले सडक निर्माण पहिलो प्राथमिकतामा पारेको बताउनुभयो । “सहजरूपमा ओहरदोहर गर्न मिल्ने बाटो बनाउने लक्ष्य छ”, उनले भए, “सडक सञ्जालले सबै बस्ती छुने छ ।” उनले हरेक सडकलाई मोटरबाटोका रूपमा विकास गर्न बजेट माग भइरहेको जानकारी दिए । “पहाड काटेर ट्र्याक खोल्ने काम चलिरहेको छ”, उनले भने, “सडक नहुँदा सास्ती खेपेका स्थानीयवासीमा अहिले खुशी छाएको छ ।”

लालीवाङदेखि रन्तेससम्मको गोरेटो बाटो हाल आठ मिटरको बनाउने काम भइरहेको उनले बताए । उनका अनुसार यो वडामा ३२० घरधुरी छन् । जसमध्ये करीब २० घर तामाङ समुदायको रहे पनि अन्य सबै चेपाङ हुन् । वडाध्यक्ष प्रजाले वडा नं ११ विकासमा निकै पछि परेकाले नगरपालिकाले समेत बजेट विनियोजन गर्दा प्राथमिकतामा पारेको बताए ।

“बनेका बाटोमा सजिलै एम्बुलेन्स चल्न मिल्ने बनाउने धोको छ”, उनले भने, “ट्र्याक खोल्ने काम लगभग अन्तिम चरणमा पुग्यो, अब कालोपत्रे गर्न बजेट आवश्यक छ ।” अगुवा युवा दिनेश प्रजाले सडक बन्न थालेपछि ठूला व्यावसायिक फार्म खुल्ने क्रमसमेत बढेको बताए । “दुई ठूला ह््याचरी फार्म खुलेका छन्, अन्य कैयन व्यवसायीले प्रशस्तै जग्गा खरिद गरेको अवस्था छ”, उनले भने “वडाको तल्लो क्षेत्रमा जग्गा पाउनै मुस्किल भइसकेको छ ।”

स्थानीय मानबहादुर प्रजा जग्गाको मूल्य ह्वात्तै बढेको बताए । “हावापानी अनुकूल भएरै होला, ठूला रिसोर्ट तथा ह्याचरी खोल्न जग्गा लिनेको होडबाजीनै चलेको छ”, उनले भने, “पाँच वर्ष पहिले रु पाँच हजार कठ्ठामा पाइने जग्गाको मूल्य रु पाँच लाखसम्म पुगेको छ ।”