प्रदेश 2

अवैधरूपमा लुकाइएको मदिरा बरामद

लहान । नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न लुकाइछिपाइ राखेकोे अवस्थामा प्रहरीले आज बिहान सिरहाको भगवानपुर–५ स्थित सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर–५ स्थित अभयकुमार यादवको बाँसघारीमा लुकाइछिपाइ राखेको अवस्थामा गौरव नामक मदिरा ३९० बोतल, नुरीशसी नामक मदिरा ३०० बोतल, कस्तुरी ३०० बोतल, रोयलस्ट्याक ३० बोतल र गोल्डेनओक १५ बोतल बरामद गरेको हो ।

यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजार नगरपालिका–३ स्थित विष्णुदेव साहको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ८०० लिटर अवैध मदिरा र एक हजार २०० लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट पारेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए। त्यस्तै प्रहरीले सिरहा नगरपालिका–१ बाट करीब ५० हजार मूल्य बराबरको अवैध समान बरामद गरेको छ ।