पर्यटन/संस्कृति

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहाका होटल पर्यटकले भरिभराउ

चितवन । पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बस्न थालेका छन् । नारायणगढ–मुग्लिन सडक सहज भएसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन यहाँ आएका छन् ।

सङ्घका उपाध्यक्ष दीपक भट्टराईका अनुसार सौराहामा सोमबार राति कुटुम्ब ब्याण्डको प्रत्यक्ष प्रस्तुति रहेको थियो भने केही होटलले समेत साङ्गीतिक कार्यक्रम आयोजना गरेका थिए । होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीका अनुसार सोमबारदेखि तीन दिनसम्म होटल पुरै बुकिङ रहेको छ । ठूला अधिकांश होटल पुरै बुकिङ भएको उनले बताए ।

सौराहाको रेष्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए । राप्ती किनार पर्यटकले भरिएको छ । निकुञ्जसँग जोडिएका सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको व्यवसायीले बताएका छन् । सौराहामा मात्र सानाठूला गरी ११० होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् ।

दैनिक दुई हजार पाँच सय पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । साठीभन्दा बढी रेस्टुराँ र एक सय साना पर्यटन व्यवसाय सञ्चालित छ । यहाँ वार्षिक दुई लाख हाराहारी पर्यटक आउँछन् । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । हात्ती चढेर जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहन्छ ।