लुम्बिनी

तीस लाखको लागतमा गाउँमा सडक

बेझाड । रु तीस लाखको लागतमा असेर्दी– रानीबास सडक सञ्चालनमा आएको छ । गाउँमा सडक पुगेपछि कृषकलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ ।

रम्भा गाउँपालिका– १ हुँगीको असेर्दीदेखि वडा नं २ फोक्सिङ्कोटको रानीबास जोड्ने करीब पाँच किलोमिटर सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि अहिले गाउँमा जिप, ट्रयाक्टरलगायत सवारी साधन गुड्न थालेका छन् । “ट्रयाक खुलेपछि तरकारी बिक्री गर्न सजिलो भएको छ, दैनिक उपभोग्य वस्तु किनमेल गर्न बजार पुग्नु परेको छैन,” रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भने ।

सांसद विकास कोषको रकमबाट उक्त सडक सञ्चालनमा ल्याइएको हो । “चालू आर्थिक वर्षमा गाउँपालिकाका पाँचै वडामा बस गुडाउन मिल्ने गरी सडक निर्माण, मर्मत र विस्तार गरिरहेका छौँ,” उनले भने ।

यसअघि सडकको ट्रयाक नखुल्दा यहाँका बासिन्दाले यात्रा गर्न निकै सास्ती भोग्दै आएका थिए । गाउँपालिकाका पाँच वडामध्ये चारमा बस सेवा सञ्चालनमा छ । वडा नं २ मा फागुनभित्रमा बस पु¥याउने गरी काम भइरहेको अध्यक्ष भण्डारीले बताए । वडा नं २ को रानीबासदेखि वडा कार्यालयसम्मको करीब दुई किलोमिटर सडक विस्तार गर्ने काम बाँकी रहेको उपभोक्ता समितिका उपाध्यक्ष मनबहादुर गाहाले जानकारी दिए ।