गण्डकी प्रदेश

पतिको स्मृतिमा २५ लाखको जग्गा दान

तनहुँ । व्यास नगरपालिका–१ गल्बुवेंशीकी यशोदा भट्ट क्षेत्रीले आफ्ना स्वर्गीय पति बालकृष्ण क्षेत्रीको स्मृतिमा आमा समूहलाई २५ लाख रुपैयाँ मूल्य बराबरको जग्गा दान गरेकी छन्।

उनले घर छेउकै जग्गा दान गरेकी हुन्। उनले तीन आना जग्गा गल्बुवेंशी सिर्जनशील आमा समूहलाई दान गरेको गल्बुवेंशी टोल विकास संस्थाका सचिव गणेश बास्तोलाले बताए। उक्त दान आमा समूहको सामुदायिक भवन निर्माणका लागि दान गरेकी हुन्।

आमा समूहको अध्यक्ष समेत रहेकी भट्टले समूहको आवश्यक कागजात झोलामा बोकेर चौरमा वा कसैको घरको पेटीमा बैठक बस्नुपर्ने समस्याको समाधान गर्न जग्गा दान गरेको उनले बताइन्।

उक्त जग्गा गत शुक्रबार आमा समूहको नाममा दर्ता गरिएको भट्टले बताइन्। जग्गाको कागजात आमा समूहलाई जिम्मा दिइएको समूहकी सचिव गीता बास्तोलाले जानकारी दिइन्।