पु.समाचार

‘विपीको बाटोमा नेतृत्व तह हिँडे काङ्ग्रेस बलियोः नेता कार्की

चितवन । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले एकताका साथ विपी कोइरालालाई स्मरण गर्दै नेतृत्व अघि बढ्न सकेमा मात्र काङ्ग्रेस बलियो हुने बताएका छन् ।

नेपाली काङ्ग्रेस चितवनले सोमबार आयोजना गरेको ४३औँ राष्ट्रिय एकता एवं मेलमिलाप दिवस समारोहमा नेता कार्कीले जनताले अहिले नारामा नभई व्यवहारमा काम खोजेको बताए । “विपीले ल्याएको एकता र मेलमिलापको नितीलाई आत्मसात् गर्दै अब काङ्ग्रेस नेताको घरमा होइन जनताको घरदैलोमा पुग्नुपर्छ” उनले भने । विपीको विचारलाई पूरा गर्ने समय आएको भन्दै उनले अहिले सङ्गठन गर्ने समय भएको बताए ।

कार्यक्रममा काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, काङ्ग्रेस चितवनका पूर्वसभापतिद्वय पृथ्वीमान गुरुङ् र तोपमानसिंह गुरुङ्, काङ्ग्रेस चितवनका नेता दिनेश कोइराला, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङ्, योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णीम वाग्ले, काङ्ग्रेस चितवनका उपसभापति कैलाश कोइराला, नेविसङ्घका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए।