अन्तर्राष्ट्रिय

भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

कारकास । विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ । राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन् । सरकारी पक्षले भेनेजुएलाको सङ्कटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई जनालाई निर्वासित गरेका छन् ।

सरकारी नियन्त्रणमा पर्ने पत्रकारहरुमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्पेनका एक जना रहेका छन् । उल्लेखितमध्ये पछिल्ला तीन जना स्पेनको राष्ट्रिय समाचार संस्था इफेका लागि काम गर्दै आएका छन् भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिरत स्थितिको रिपोर्टिङकै लागि आएका हुन् ।

पक्राउ परेका दुई फ्रान्सेली पत्रकार एउटा टिभी कार्यक्रमका लागि काम गर्दै आएका थिए । उनीहरुलाई सघाइ रहेका यस कार्यक्रमका उत्पादक एक जना स्थानीयलाई पनि सरकारी पक्षले नियन्त्रणमा लिएको छ । अन्य दुई जना चिलीका टेलिभिजन पत्रकारलाई पनि मङ्गलबार नै भेनेजुएलाको सरकारी पक्षले देश निकाला गरिदिएको चिलीका विदेश मन्त्री रोबर्टो अम्पुएरोले बताए ।